काठमाडौं, १४ भाद्र । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुन: बाढीको सतह बढेको छ। आइतबार बिहानदेखि नदीमा बहाव बढेको र ठूलो आवाज सुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बिहान करिब ४ बजेदेखि नदीमा ठूलो आवाज सुनिएको हो। अँध्यारोका कारण बाढीको अवस्था र बहावको परिमाण भने यकिन हुन नसकेको उनले बताए।
उनका अनुसार नदीबाट करिब एक घण्टादेखि निरन्तर ठूलो आवाज सुनिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नुवाकोट, धादिङ तथा सम्बन्धित मन्त्रालय र प्राधिकरणलाई समेत जानकारी गराइएको छ।
बाढी पूर्वानुमान महाशाखाले पनि रसुवाबाट भोटेकोशीमा बहाव बढेको सूचना प्राप्त भएपछि रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
रसुवा प्रशासनबाट प्राप्त सूचनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँको नागढुंगा र चितवनतर्फ सवारीसाधन रोकिएको जानकारी प्राप्त भएको छ।
यसअघि भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
पुन: बहाव बढेको सूचना आएपछि प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेको छ।






