Logo

मलेसियामाथि नेपालको सानदार जित



काठमाडौं, २१ जेठ । नेपालले एसीसी पुरुष टी–२० एसिया कप छनोटअन्तर्गत मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेताका रूपमा एसियन गेम्स क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गरेको छ।

सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार सम्पन्न समूह ‘ए’ को खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै शीर्ष स्थान हासिल गरेको हो। यसअघि नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गरेको थियो।

नेपालले दिएको २७६ रनको कठिन लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमै सीमित भयो। मलेसियाका कप्तान सयद अजिजले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार गरेको थियो।

नेपालको इनिङ्समा कुशल भुर्तेल चम्किए। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतले १२६ रनको विस्फोटक शतकीय पारी खेले। यो प्रतियोगितामा उनको लगातार दोस्रो शतक हो। यसअघि उनले चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए।

आशिफ शेखले २४ बलमै ६८ रनको तुफानी अर्धशतक बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रनको योगदान दिए। सन्दीप जोराले १५, लोकेश बमले १० तथा कुशल मल्लले अविजित ९ रन जोडे।

समूह चरणमा लगातार दुई जित हासिल गरेको नेपाल शीर्ष स्थानमा रहँदै एसियन गेम्समा छनोट भएको छ। मलेसिया पनि दोस्रो स्थानमा रहँदै प्रतियोगितामा स्थान बनाउन सफल भएको छ भने लगातार दुई हार बेहोरेको चीन प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्