काठमाडौं, १६ जेठ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षासमेत भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
आज राति पनि सुदूरपश्चिमसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली कायम रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम महाशाखाले वर्षा, चट्याङ र हावाहुरीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।








