झापा, १९ असार । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा विद्युत् सर्ट भएर भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब १०ः४५ बजे चुडामणि गुरागाईको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत् सर्ट भई आगलागी भएको हो।
आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। आगलागीका कारण घरसमेत पूर्ण रूपमा ध्वस्त हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुईवटा दमकलको संयुक्त प्रयासमा आगो बिहान ११ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






