झापा, २१ जेठ । झापाको मेचीनगरमा स्कुल बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ५:२० बजे मेचीनगर–९ स्थित गोमनसरी सिमेन्ट फ्याक्ट्री नजिकको भित्री पक्की सडकमा दुर्घटना भएको हो। सतिघट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको होलिबेल बोर्डिङ स्कुलको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ निवासी २५ वर्षीय अजय राजवंशी र पछाडि सवार भारतको किशनगञ्ज, गलगलिया निवासी ३३ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले साँझ ५:५० बजे मृत घोषणा गरेका हुन्।
मृतक दुवैको शव हाल प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ।
दुर्घटनापछि बस चालक मेचीनगर–११ निवासी ४२ वर्षीय निरेन धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र मोटरसाइकल दुवै इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।








