ताप्लेजुङ, २२ भदौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजार नजिकै मैवाखोलामा ट्रयाक्टर खस्दा बेपत्ता भएका दुई जना सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज बिहान करिब २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट गोलिया बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको भेनियरको ट्रयाक्टर मैवाखोलाको पुल छेउबाट करिब २० मिटर तल खोलामा खसेको थियो ।
दुर्घटनामा ट्रयाक्टर चालक समीर बराइली र ट्रयाक्टरमा सवार अनिल नाल्बो बेपत्ता भएका थिए । उनीहरूलाई खोलाले बगाएको हुनसक्ने आशंकामा स्थानीय बासिन्दा र प्रहरीको टोलीले बिहानैदेखि खोजी गरिरहेको थियो ।
खोजी कार्य जारी रहेकै अवस्थामा पछिल्लो जानकारीअनुसार बेपत्ता भएका दुवै जना सम्पर्कमा आएका प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ ।






