मोरङ, ९ साउन । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेकी छन्। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बालिका शुक्रबार अपराह्न करिब ४ बजेदेखि घरबाट हराएकी थिइन्। परिवार र स्थानीयवासीले खोजी गर्ने क्रममा घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको घारीमा शुक्रबार साँझ करिब ७:३० बजे उनको शव फेला परेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ एसपी कटवालसहितको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा कपडा लगाएकै अवस्थामा रहेको थियो। प्रारम्भिक जानकारीअनुसार बालिका घरबाट हराउँदा पनि माथिल्लो भागमा कपडा नलगाएको अवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे विस्तृत अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






