Logo

रातभर खुलेका बिर्तामोडका डान्स बारमा प्रहरीको छापा, दर्जन बढी नियन्त्रणमा



झापा, २३ जेठ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडमा सञ्चालित डान्स बारहरूमा विशेष सर्च अपरेशन सञ्चालन गरेको छ। डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न डान्स बारमा अनुगमन तथा जाँच अभियान चलाएको हो।

प्रहरीका अनुसार तृष्णा, दुर्गा, डी डब्लु, नाइट लाइफ, लोटस, हाइपलगायतका डान्स बारमा सर्च अपरेशन गरिएको छ। अभियानका क्रममा करिब एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

जन्नत र गन्तव्य डान्स बार भने बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य अधिकांश डान्स बार रातभर सञ्चालन भइरहेको अवस्थामा फेला परेको बताइएको छ।

प्रचलित व्यवस्थाअनुसार डान्स बारहरूलाई राति ११ बजेसम्म सञ्चालन गर्न अनुमति भए पनि बिर्तामोडका कतिपय डान्स बारले तोकिएको समयसीमा उल्लंघन गर्दै रातभर व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

बिर्तामोडको सुरक्षा नेतृत्व सम्हालेपछि डीएसपी पाठकले नियमविपरीत सञ्चालन हुने व्यवसायमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएका छन्। यसअघि उनले कार्यभार सम्हालेको केही दिनमै स्पा तथा मसाज सेन्टरहरूमा छापा मारेर तीन जनालाई पक्राउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्