Logo

राति घरमै पस्यो जंगली हात्ती, आमा–छोराको मृत्यु



चितवन, २१ असार । चितवनमा जंगली हात्तीको आक्रमणमा परी आमा र उनका नाबालक छोराको ज्यान गएको छ। शनिबार राति भरतपुर महानगरपालिका-२३ बेलहट्टास्थित आफ्नै घरमा सुतिरहेका बेला जंगली हात्तीले घरमा आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।

वडा अध्यक्ष दीपक दवाडीका अनुसार राति करिब ११ बजे भएको उक्त घटनामा पूर्ण बोटेले हात्ती धपाउने प्रयासस्वरूप आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुःखद घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ को वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिबीच छलफल भएको थियो।

छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक पहल गर्ने, मृतक परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत शीघ्र राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रम तत्काल अघि बढाउने सहमति भएको वडा अध्यक्ष दवाडीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्