काठमाडौं, ६ भाद्र । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही प्रमुख सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग उपलब्ध रहेको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा इकु पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। सोही वडाको लिपिङमा सडक भासिएपछि राजमार्गको आवागमन प्रभावित भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
यसैगरी, रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेशबिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षाका कारण पहिरो तथा बाढीको जोखिम अझै कायम रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, सावधानी अपनाउन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।






