Logo

वर्षा कम भएसँगै देशभर तापक्रम बढ्ने संकेत



काठमाडौं, १९ जेठ । विगत केही दिनदेखिको वर्षा क्रमशः कम हुँदै गएसँगै देशका अधिकांश क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला तीन दिनमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि नपुगे पनि अब तापक्रम क्रमशः वृद्धि हुने सम्भावना रहेको छ। वर्षा कम हुन थालेपछि विशेषगरी तराईका क्षेत्रमा गर्मी पुनः बढ्न थालेको विभागले जनाएको छ।

सोमबार भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस मापन गरिएको थियो, जसले तराई क्षेत्रमा गर्मीको प्रभाव पुनः बढ्दै गएको संकेत गरेको छ।

पछिल्लो २४ घण्टामा दैलेखसहित केही जिल्लामा हल्का वर्षा भए पनि देशका अधिकांश स्थानमा वर्षा भएको छैन। रातिको समयमा कुनै पनि स्थानमा उल्लेखनीय वर्षा मापन नभएको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो दिन’ हुने सम्भावना रहेको छ। हाल पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण मौसममा परिवर्तन देखिएको बताइएको छ।

यद्यपि आगामी बुधबारसम्म हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना कायम रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मीको सम्भावना रहेकाले मौसम विभागले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। गर्मीबाट बच्न पर्याप्त पानी पिउने, लामो समय घाममा नबस्ने तथा स्वास्थ्यमा असर देखिएमा चिकित्सकीय परामर्श लिन विभागले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्