काठमाडौं, ११ भाद्र । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीसम्बन्धी प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको जनाएको छ। साथै, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि बिहान ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो।
त्यसपछि बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना तथा सतर्कता सन्देश प्रवाह गरेको जनाएको छ।
प्रारम्भिक प्रतिवेदनअनुसार बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी, ११ः५० बजे मलेखु बजार, दिउँसो १ बजे मुग्लिङ पार गर्दै दिउँसो ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको थियो।
बुधबार साँझ ६ः३० बजेसम्म देवघाटमा नदीको बहाव सामान्य अवस्थामा करिब ४ मिटरमा फर्किएको प्रतिवेदनमा उल्लेख छ।
महाशाखाले नदी प्रणालीमा अझै जोखिम रहनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।






