
काठमाडौं, ५ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आज आफ्नो पहिलो खेल नामिबियाविरुद्ध खेल्दैछ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ।
यस त्रिकोणात्मक शृङ्खलामा नेपालसँगै आयोजक नेदरल्यान्ड्स र नामिबिया सहभागी छन्। नेपालले शृङ्खलामा दुवै टोलीविरुद्ध दुई–दुई गरी कुल चार खेल खेल्ने तालिका रहेको छ।
नेपालले जुलाई २३ मा नेदरल्यान्ड्ससँग, जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप लिग–२ को शीर्ष चारभित्र रहँदै अर्को चरणको सम्भावना कायम राख्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ। त्यसैले टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ आज मैदानमा उत्रनेछ।






