काठमाडौं, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा विभिन्न धार्मिक र सांस्कृतिक परम्पराका साथ मनाइँदैछ।
आज सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेसँगै दक्षिणायन प्रारम्भ भएको छ। वैदिक सनातन परम्पराअनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष धार्मिक महत्वका साथ मनाइने गरिन्छ।
असारभर खेतीपातीमा व्यस्त रहने नेपाली समाजमा साउने सङ्क्रान्तिका दिन छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ ‘लुतो फाल्ने’ परम्परा प्रचलित छ। संस्कृतिविद् प्राडा देवमणि भट्टराईका अनुसार यस परम्पराले स्वास्थ्य संरक्षण र लोकविश्वास दुवैलाई जोडेको छ।
परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो फाल्दै लुतो हटाउने परम्परा निभाइन्छ। यस क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र घरको ढोका बन्द गर्ने चलन पनि विभिन्न समुदायमा रहेको छ।
साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले आजदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्न थालेको छ। महिलाले हरियो चुरा, हरिया वस्त्र र मेहन्दी लगाएर साउन महिनाको स्वागत गर्ने परम्परासमेत कायम छ।






