Logo

सुरु भयो आजबाट सोह्र श्राद्ध



काठमाडौं, ११ असोज । वैदिक सनातन हिन्दू परम्पराअनुसार प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने हुन्छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान तथा पिण्डदान गरी सम्मान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यस अवधिलाई अपर पक्ष तथा प्रेत पक्षका नामले समेत चिनिन्छ।

हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा शुभकार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। सोह्रश्राद्धका माध्यमबाट पितृप्रतिको दायित्व पूरा हुने र पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय मान्यता छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्रश्राद्ध नछोड्नुपर्ने शास्त्रीय व्यवस्था रहेको उनले बताए।

आफ्नो पिताको मृत्यु भएको तिथिमै श्राद्ध गर्नु मुख्य विधान भए पनि कुनै कारणवश निर्धारित समयमा गर्न नसके विभिन्न वैकल्पिक व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्। आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म पनि श्राद्ध गर्न सकिने व्यवस्था रहेको बताइएको छ।

त्यस अवधिमा समेत गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने र त्यसपछि पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म गर्न सकिने शास्त्रीय व्यवस्था रहेको जनाइएको छ। आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी तथा भरणी नक्षत्र र व्यतिपात योग परेका दिनमा पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्प रहेको प्रा.डा. भट्टराईले बताए।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले भने सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेकाले पुरोहितको सुविधाअनुसार बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने स्पष्ट पारे।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँको सुरुवात हुन्छ। त्यसैले दसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्रश्राद्ध गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्