काठमाडौं, ४ जेठ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो भेटमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाल आज जित निकाल्दै बदला लिने योजनामा छ । अमेरिकाविरुद्ध ९ विकेटको शानदार जित निकालेको नेपाली टोली सोही लय कायम राख्न चाहन्छ ।
स्कटल्यान्ड भने जारी सिरिजमा नेपाल र अमेरिकालाई समान २ रनले हराउँदै लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
नेपालका लागि आजको खेल अंक तालिका सुधारका हिसाबले पनि महत्त्वपूर्ण मानिएको छ । लिग–२ मा बाँकी खेल जित्दै शीर्ष ६ मा रहेर एकदिवसीय मान्यता जोगाउने लक्ष्य नेपाली टोलीको छ ।
अमेरिकाविरुद्ध शतकीय इनिङ खेलेका कुशल भुर्तेल, अर्धशतक बनाएका आशिफ शेख तथा इशान पाण्डेको प्रदर्शनले टोली उत्साहित बनेको छ । मुख्य प्रशिक्षक स्टुआर्ट ल ले विजयी प्लेइङ–११ लाई निरन्तरता दिन सक्ने अनुमान गरिएको छ ।
अंक तालिकामा २६ खेलबाट २० अंक जोडेको नेपाल सातौँ स्थानमा छ । ३० खेलमा ३८ अंक बनाएको स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा ३६ अंकसहित अमेरिका दोस्रो स्थानमा रहेको छ ।







