Logo

हरिशयनी एकादशीसँगै चतुर्मास सुरु, घर–घरमा तुलसी रोप्ने परम्परा



काठमाडौं, ९ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आजदेखि सुरु भएको छ। यस अवसरमा घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने वैदिक परम्परा रहेको छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको मठमा राखिएको बीउबाट हुर्किएको बिरुवा आज विधिपूर्वक मठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानी पूजा गरिन्छ। आज रोपिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म दैनिक पूजा–आराधना गरिन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वासका कारण यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मास पनि भनिन्छ।

वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा वा कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने परम्परा रहेको छ।

हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण, शेषनारायण लगायत देशभरका विष्णु तथा नारायण मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। यस दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने चलन छ।

तुलसी धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण वनस्पति मानिन्छ। यसले प्रशस्त अक्सिजन उत्सर्जन गर्नुका साथै औषधीय गुणसमेत बोकेको विश्वास छ। तुलसी रहेको स्थानको वातावरण स्वच्छ रहने र घरमा तुलसीको मठ राख्दा शुभ हुने जनविश्वास पनि रहेको छ।

चार महिनासम्म पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। त्यसपछि हवनसहित चतुर्मास व्रतको उद्यापन गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्