Logo

२७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब २४ घण्टाभित्रै छापिने



काठमाडौं, १ साउन । लामो समयदेखि सेवाग्राहीको टाउको दुखाइ बनेको स्मार्ट लाइसेन्सको ब्याकलग अन्त्य भएको छ। सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को २७ लाख थान छपाइ कार्य सम्पन्न गरेसँगै अब नयाँ लाइसेन्स २४ घण्टाभित्रै छाप्ने व्यवस्था मिलाएको जनाएको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच दुई चरणमा भएको सम्झौताअनुसार स्मार्ट लाइसेन्स छपाइको काम सम्पन्न भएको हो। पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख लाइसेन्स छापिएको थियो भने दोस्रो चरणमा २०८३ वैशाख ४ गते थप १५ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएको थियो। दोस्रो चरणको काम असार ३२ गते सम्पन्न भएसँगै वर्षौँदेखि थन्किएको ब्याकलग हटेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अब ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण प्राप्त भएको २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर यातायात व्यवस्था विभागलाई उपलब्ध गराइनेछ। हाल दैनिक तीनदेखि पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेको जनाइएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहल र मन्त्रालयबीचको समन्वयका कारण लामो समयदेखि रोकिएको छपाइ कार्यले गति लिएको मन्त्रालयको दाबी छ। मन्त्री तिमिल्सिनाले पदभार ग्रहण गरेदेखि नै स्मार्ट लाइसेन्सको ब्याकलग अन्त्यलाई प्राथमिकतामा राख्दै काम अघि बढाएका थिए।

यसैबीच, सुरक्षण मुद्रण केन्द्रले सातै प्रदेश सरकारसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी दीर्घकालीन व्यवस्था गर्ने तयारी गरेको छ। साथै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र लालपुर्जालगायतका सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने योजना अघि बढाइएको छ।

सरकारका अनुसार सुरक्षण मुद्रण सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि विदेशिने ठूलो रकम बचत हुने, स्वदेशमै रोजगारी र पुँजी परिचालन बढ्ने तथा सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्