Logo

सडक किनारमा बसेर अरुको भाग्यको फैसला



झापा, २७ मंसिर । ज्योतिष विद्या प्राचीन कालिन गणत विज्ञान मानिन्छ । नेपाल र भारतमा बढी प्रभाव रहेको ज्योतिष विज्ञानप्रति आज पनि लाखौँ मानिसको विश्वास र भरोषा छ । ठूल ठूला महलदेखि सढक पेटीसम्म ज्योतिष विद्या अध्ययन गरेका वा स्वअध्ययन गरेका ज्यातिषी भेटिन्छन् । आफ्नो भविष्यको कुनै ठेगान नभए पनि उनीहरु अरुको भविष्य सहजै बताइ दिन्छन् ।

ज्योतिषीले हात हेराउने, चिना, टिपन देखाउने जो कोहीको भुत र भविष्य खरर… भनिदिन्छन् । ठ्याक्कै मिल्यो भन्ने पनि भेटिन्छन् । धेरै नमिले पनि मुन्टो हल्लाएर हिँड्ने प्रसस्त भेटिन्छन् । तर, ज्योतिषीसँग आफ्नो भाग्य नमिलाएको भनेर झडगा गर्ने र पैसा फिर्ता माग्ने खासै भेटिँदैनन् ।

नेपाल र भारतका मठ मन्दिर, सहर बजारका सडक किनारमा ज्योतिषी भेटिन्छन् । युरोप, अमेरिका लगायत देशमा पनि ज्योतिष विद्याको प्रभाव बढ्दै गएको छ । हिन्दू धर्म र सम्प्रदायका मानिस भएका समुदायमा ज्योतिष विद्या लोकप्रिय छ ।

झापाको विर्तामोड मुक्ति चोक दुर्गा मन्दिर परिसरमा वर्षौदेखि ज्योतिषी मनिसका भाग्य हेर्दै आएका छन् । अरुको भाग्य हेरेर दिन बिताउने ज्योतिषी आफैँ भने दिनभर सडक पेटीमा धुलो खाएर बसेका हुन्छन् । हात हेराउनेले दिएको दश, बीस, पचासले आफ्नो गर्जो टार्दै आएका छन् ।

सडकमा बसेर अरुको भाग्य बताउने ज्योतिषीका पीडा भने आफ्नै खालका छन् । पानी आए मुढा र चकटी पोको पारेर ओत लाग्नु पर्दा उनीहरुलाई सामान्य नै लाग्छ । तर, नगरपालिका र ट्राफिकले लखेटदा भने उनीहरु दुःखी हुन्छन् । अर्जुनधारा नगरपालिका लक्ष्मीपुर घर भएका ७५ वर्षिय भवानीप्रसाद नेपालले मुक्तिचोक सडक पेटीमा बसेर अरुको भाग्यको फैसला गरेर १४ वर्ष बिताइसके । उनी बिहान ९ बजे बिर्तामोड आइपुग्छन्, दिनभर अरुको भाग्य हेरेर ३ बजे पछि घर फर्कन्छन्, यो उनकोे दैनिकी हो । ‘कहिले खाली हात फर्कनु फर्छ त कहिले दुई हजार पच्चिस सयसम्म कमाई हुन्छ’ उनले हाँस्दै भने, ‘छोरा छोरीलाई पढाई हुकाई गरे अहिले बुढ्शकालमा बुढाबुढी दुई जना मात्र भएका छैँ।’ अरुको भविष्यको बारेमा बताउँनु पर्ने कुरा आफैँमा सहज नभएको बताउँछन् ज्योतिषी नेपाल ।

यो भवानीको मात्र कथा होइन, नेपालमा यस्ता थुप्रै ज्योतिषी छन्, जसले अरुको भविष्य हेरेर आफ्नो भविष्य बनाइ राखेका छन् ।
सडकमा बसेर अरुको भाग्य हेर्ने ज्योतिषी मात्र नभइ सबै ज्योतिष विद्या अध्ययन गरेका ज्योतिषी नेपाल ज्योतिष परामर्श केन्द्रमा आवद्ध रहेका छन् । संस्थामा आवद्ध हुन प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ तिनुपर्ने व्यवस्था रहेको ज्योतिष परामर्शा केन्द्र बिर्तामोडका प्रमुख सुर्दशन रिजालले जानकारी दिए । रिजालले आफ्नो संस्थामा कम्पयुटर मार्फत सेवा दिने गरेको बताए । उनले दैनिक १५ देखि १७ जनालाई सेवा दिँदै आएका छन् । यस संस्थाको स्थापना विं.स. २०६९ मा भएको हो ।

प्रतिक्रिया दिनुहोस्