Logo

मेची पारीको भाङबारीसँग नेपालको सम्वन्ध विच्छेद !



झापा, ४ साउन । मेची नदिमा पुल नहुँदा भद्रपुर–३ को मेची पारीको भाङबारी बस्ती बिरानो बन्दै गएको छ । वर्षाको तीन महिना भाङबारीवासीको नेपालसँग लगभग सम्बन्ध विच्छेद हुने गरेको छ ।

वर्षा लागे पछि भाङबारीवासी भारतमा निर्भर हुनु पर्दछ । अरुबेला पनि किनमेल लगायतमा भारतको भर पर्नुपर्ने वाध्यता रहेका भाङबारीवासीले वर्षामा नेपाल आउन डुंगा चढ्नु पर्ने वाध्यता हुन्छ । त्यो पनि मेची नदिमा भेल आएका बेला डुंगा नचल्दा भाङबारीवासीको नेपालसँग सम्वन्ध टुट्ने गरेको छ ।

मेचीपारीको भाङबारीलाई भद्रपुर बजारसँग जोड्न पाँच वर्षअघि नै झोलुंगे पुलको ठेक्का लागेको थियो । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो ।

२ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी निर्माण सेवा प्रा.लि. बानेश्वर, काठमाडांैले ठेक्का लिएपनि हासम्म निर्माण कार्य सम्पन्न भएको छैन ।
२ सय ८० मिटर लम्बाई र १३ मिटर चौढाई रहेको झोलुङ्गे पुलको निर्माण गर्नका लागि २०७२ भदौ ७ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७३ फागुन ६ गते १८ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने हो । २०७६ असार मसान्तसम्ममा ५० प्रतिशत पनि काम भएको छैन । तर, निर्माण कम्पनीले ७० प्रतिशत भन्दा बढी भुक्तानी लगेको छ ।

निर्वाचनमा उम्मेद्वारले झोलुङ्गे पुल निर्माण मुख्य मुद्दा बनाए पनि अहिले पुलको मुद्दा ओझेलमा परेको छ । भाङबारी मेची पारीको टापु बनेको छ । भारतले आफ्नो क्षेत्रमा वर्ष पक्की तटबन्ध बनाएपछि बस्ती पूर्वपट्टि बग्ने मेची नदीले नेपालतिरै कटान थालेको छ । यसले भाङबारी टापुका नेपाली संकट परेका छन् ।

भद्रपुर नगरपालिकाले व्यवस्था गरेको डुंगाको भरमा टापुका वासिन्दा नेपालको मूल भूमिमा आउ जाउ गर्नु पर्छ । मेची नदी उर्लिएको बेला डुंगा चल्न सक्दैन । २०४० सालदेखि भाङबारी टापुको मेची आधारभूत विद्यालयमा कार्यरत शिक्षक कैलास राईले भाङबारी टापुलाई कर्णालीको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्