Logo

कम्युनिष्ट पार्टीको प्रशिक्षणः कहिले होला भाषणको अन्त्य ?



एमाले र माओवादी पार्टी बीचको एकताका सम्बन्धमा नेकपाका एक नेताको टिप्पणी थियो ‘पार्टी एकता दुईवटा बिग्रिएका कम्युनिष्ट पार्टी बीचको एकता हो । यो पार्टी कम्युनिष्ट पार्टी होइन । तर, यस भित्र हजारौँको संख्यामा कम्युनिष्ट विचार बोक्ने, निष्ठा र इमान भएका क्रान्तिकारी छन् । यो पार्टी सपार्ने प्रयास गर्ने हो, कम्युनिष्ट आन्दोलन र परिवर्तनलाई बचाउने प्रयास गर्ने हो । सकिएन भने भिरबाट खस्ने गोरुलाई रामराम भन्नु सिवाय केही हुँदैन ।’

ति नेताको आसय नामको कम्युनिष्ट पार्टी रहला, झण्डा पनि हँसिया हथौडा रहला तर राम्रो क्रान्तिकारी कम्युनिष्ट पार्टी रहन नसक्ने थियो । उनको टिप्पणीले नेकपा सैद्धान्ति, वैचारिक र कार्यशैलीका हिसावले निकै कमजोर छ भन्ने देखाउँथ्यो ।

एकप्रकारले नेकपामा अहिले वैचारिक संकट भएको औँल्याएका थिए । नेकपाले सबै जनवर्गीय संगठनको एकता सम्पन्न गरेको छैन । केन्द्रीय पार्टी स्कुल विभागको प्रमुख को हुने ? भनेर ठूलै रस्साकस्सी चल्यो । अन्ततः इश्वर पोखरेल प्रमुख बने ।
तर, केन्द्रीय स्कुल विभागले नगरेपनि झापाको स्कुल विभागले प्रशिक्षक र पाठ्यक्रम तयार गरी तहगत प्रशिक्षण सुरु गरेको छ ।

नेकपा झापाको स्कुल विभागले बिहिवार र शुक्रवार दुईदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेर पार्टीपंतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ । प्रशिक्षणले सहभागीको सैद्धान्ति र वैचारिक स्तरमा लागेको खिया सफाइ गर्न कति मद्यत गर्दा त्यो त भोलीका दिनमा मात्र थाहा हुन्छ ।

प्रशिक्षक प्रशिक्षणमा सहभागी २ सय ५० भन्दा बढी हुनु, प्रशिक्षकलाई एक घण्टा मात्र समय दिइनु, प्रशिक्षक र सहभागी बीच प्रश्नोत्तर कार्यक्रम नहुनु, सबैले पावरप्वाइन्ट वा नोट बुक प्रयोग नगर्नुले प्रशिक्षणको विधि परम्परागत थियो भन्ने बुझ्नु पर्दछ । यद्धपी, प्रशिक्षणमा प्रशिक्षकका तर्फबाट भएका कमजोरीको समिक्षा गर्नु सान्दर्भिक हुने ठानेर यो समिक्षाको प्रयास भएको हो ।

प्रशिक्षणको उद्घानमा राष्ट्रिय गानपछि कम्युनिष्टहरुले गाउने मानिस अन्तर्राष्ट्रिय जाति हुने छ… भन्ने गीत गाइएको थियो । संचालकले मोवाइलबाट बजाएको गीत बेहीबेर पछि बन्द भयो । यसै त हलमा गीतमा लय मिलाएर गाउनेको संख्या न्युन थियो । त्यसमा पनि माइकबाट बज्न छाडेपछि अलमलमा परे, जो गाउन जान्दथे उनीहरु माइक भन्दा पर थिए ।

गीतको लय अघि नबढेपछि स्टेजमा सहभागी नेताले गीत पूरा नभइ रोक्नु परेको थियो । कमरेडहरुले कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत पोलेर खाए, सहभागी एकको व्याङ्गात्मक टिप्पणी थियो । तत्कालिन एमाले र माओवादीमा यो अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत अनिवार्य जस्तै थियो । तर, बिस्तारै पार्टी नेता र कार्यकर्ताको ध्यान अन्तै जान थालेपछि वैचारिक रुपमा खिया लागेको केही सहभागीको टिप्पणी थियो ।

कम्युनिष्ट पार्टीमा पढ्ने र पढाउने संस्कृतिको रुपमा स्थापित हुन्छ । नपढ्ने कम्युनिष्ट नेता हुन सक्तैन भन्ने मान्यता राखिन्छ । कम्युनिष्ट नेता कार्यकर्ताले कस्तो वैचारिक दृष्टिकोण राख्दछ, वैज्ञानिक दुष्टिकोण अपनाउँछ कि अपनाउँदैन ? भख्ने ख्याल गरिन्छ । तर, अहिलेको नेकपा यि कुरामा पूरै खिया लागेको छ, एक प्रकारले वैचारिक भुत्तेपन प्रस्ट देखिन्छ ।

झापाको पार्टीले त्यसमा केही सूधार गर्न सकिन्छ कि ? भन्ने प्रयास गरेको छ । तर, केन्द्रबाट लागेको खिाया सफा नगरी जिल्लामा मात्र गर्नुको कति सार्थकता रहन्छ ? त्यो पनि समिक्षाको विषय हुन्छ ।

प्रशिक्षार्थीको मात्र होइन, प्रशिक्षण दिन आउने नेताको वैचारिक स्तर पनि छताछुल्ल भएको थियो । प्रशिक्षकले प्रशिक्षणको विधि अपनाएनन् । उनीहरुले भाषणकै शैलीमा प्रशिक्षण दिएका थिए । थोरै प्रशिक्षक र प्रश्नोत्तर भएको भए प्रशिक्षण जस्तो हुन्यो । एकतर्फी रुपमा दिइने प्रशिक्षण नभएर भाषण हुन्छ, त्यही भएको थियो ।

पहिलो दिनको प्रहिक्षणमा केन्द्रीय स्कुल विभागका उपप्रमुख बेदुराम भुसालको कक्षा थियो । उनले माक्र्सवादी दर्शन शास्त्र पढाए । नेता भुषाल नेकपाका पुराना प्रशिक्षक हुन् । उनले सबै ठाउँमा पढाउने भनेको माक्र्सवादी दर्शन शास्त्र हो । जहाँ कक्षा लिएपनि भुसालको कुरामा खासै फरक हुँदैन । दर्शनलाई राजनीतिशास्त्र, समाजशास्त्र र मानव जीवनसँग जोडर प्रशिक्षण दिन नसक्नु भुसालको समस्या हो ।

केन्द्रीय स्कुल विभागका अर्का उपप्रमुख देवेन्द्र पौडेलले वैज्ञानिक समाजवाद र समाजवादका मोडल विषयमा प्रशिक्षण दिएका थिए । नेता पौडेलले विषय केन्द्रित भएर भन्दा इतिहासको पाटोमा प्रवेश गरेर समय व्यतित गरे । वैज्ञानिक समाजवाद र पुँजीवादको राम्रो परिभाषाा र व्याख्यानै हुन सकेन ।

नेकपा प्रदेस सहइन्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेस अध्यक्ष देवराज घिमिरेको प्रशिक्षक सैद्धान्ति र वैचारिक ढाँचाबाट भन्दा औपचारिकतामा सीमित थियो । नयाँ कुरा र प्रभावकारी प्रस्तुतीको अभाव प्रस्टै देखिन्यो ।

शुक्रवारको प्रशिक्षणमा भने पार्टीका केन्दीय कार्यालय सचिव इश्वरी रिजालले माक्र्सवादी अर्थशास्त्रका विषयमा सामान्य मानिसले बुझ्ने भन्दा कक्षामा अध्यायपन गरेको तरिका प्रयोग गरे । प्रशिक्षकले पावरपोइन्ट प्रयोग गरेपनि त्यसको प्रभावकारीता झल्किएन । त्यसमा पनि उनले पढाउँदा माइक बिग्रिएर हैरान भएको थियो । पार्टी प्रदेश इन्चार्ज भिम आचार्यको समसामयिक विषयमा ठिकै ठिकै मात्र थियो । नेकपाका नेता राम कार्कीको विश्व र नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको विषयमा थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनका सन्दर्भमा उनले दुई वटा नयाँ कुरा प्रस्तुत गरे । कार्कीले पुष्पलाल श्रेष्ठ लगायतका नेताहरु कम्युनिष्ट पार्टी निर्माण नगरेर किन नेपाली काँग्रेसमा पहिला संगठित भए । भारतका कम्युनिष्ट पार्टी गठन हुनु भन्दा अघि काँग्रेसमा संलग्न भएको प्रभाव केही समयसम्म नेपाली कम्युनिष्टमा पनि परेको उनले बताए । नेता कार्कीले भारतीय कम्युनिष्टहरुको अभ्यासको सिको गर्दै सुरुमा नेपाली काँग्रेसमा सहभागी भएको बताए । नेपालमा पहिलो पटक दुईवटा कम्युनिष्ट पुस्तक कुन कुन आएको, ति पुस्तक कसले, कहाँ र कसरी भित्रिए र अध्ययन गरे भन्ने नयाँ प्रशंग ल्याएका थिए ।

पोखरेलले भने जस्तो होला त ?
पार्टी स्कुल विभागमा प्रमुखसमेत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाको नेतृत्वमा आउन अब परीक्षा उतिर्ण हुनु पर्ने मापदण्ड बनाइने बताए । पोखरेलले तीनै तहमा स्कुलका कक्षा संचालन हुने, पाठ्यक्रम निर्धारण गरिने, नियमित कक्षा संचालन गर्ने, विचारमा एकरुपता कायम गर्ने, पार्टी नेतृत्वमा दुई धार र तीन तले अवधारणामालागू गरिने उनको भनाई थियो ।

पार्टीमा पूर्णकालिन कार्यकर्ता र प्राविधिक ज्ञान भएका कार्यकर्ता नेतृत्वमा पुग्ने दुई धारको नेतृत्व हुने मापदण्ड बनाइने बताए । तीन तलेको अर्थ लगाउँदै पाको, अनुभवी र युवा पुस्ताको नेतृत्वमा संयोजन हुने बताए ।

के इश्वर पोखरेलले भने जस्तो सँधै राजनीतिमा लागेका र विषय विज्ञको संयोजनबाट नेतृत्व आउला ? के वृद्ध, पौढ र युवा पुस्ताको संयोजनमा पार्टी नेतृत्व निर्माण होला ? यि सवाल कार्यान्वयन नभइ कार्यकर्ताले पत्याउन गाह्रो छ । कम्युनिष्ट पार्टीमा हुनु पर्ने नेता पोखरेलले भने जस्तै हो तर त्यस्तो अभ्यासका लागि आफू तयार हुने कुरा नै मुख्य समस्या हुँदै आएको छ ।

नेकपा दुई पार्टीको मिलन, त्यसमा पनि गुट र उपगुटले भरिएको छ, के यि किल्ला भत्किएला ? कार्यकर्तालाई लागू हुने मापदण्ड नेतागणले पनि प्रयोग र लागू गर्लान् ? यदि नेता पोखरेलले भने जस्तो हुने हो भने नेकपाको आयु लामो हुन सक्छ । नेकपामा पूर्व पाटीको सहभागीता खोजिने, गुटको सहभागीता खोजिने अभ्यास अन्त्य होला त ?

जे होस, नेकपा झापाको स्कुल विभागले एउटा अभियानको सुरुवात गरेको छ । यसले धेरै गर्न नसकेपनि दुई पार्टीको एकतालाई एकअर्कामा घुलमिल गराउन मद्दत गर्ने छ । यसले पार्टी नेता, कार्यकर्तालाई वैधारिक धार लगाउन थोरै धएपनि उर्जा प्रदान गर्दा, पढ्ने आदत हराएका केहीलाई त्यही मार्गमा फर्काउला, प्रशिक्षक भएर जानेहरुले अलिअलि भएपनि किताब पढ्न बाध्य भएर केही न केही उपलब्धी हात लाग्ला भन्ने नेतृत्वने अपेक्षा लिएको छ । यो अपेक्षा पुरा हुने नहुने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्