![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/GAUTEM-BOYAR-768x384.jpg)
झापा, २७ माघ । झापा शिवसताक्षी–७ चन्द्रडाँगीका प्रकाशचन्द्र गौतम २०४५ सालमा २० वर्षकै उमेर स्थानीय शुक्रप्राविमा शिक्षक भए । गौतमले शिक्षणका अतिरिक्त एक दर्जनभन्दा बढी पेशामा हात हाले । तर, कुनैपनि पेशामा सफलता पाएनन् । उनले गाई फार्म खोलेनन् कि, गोठभरी भैँसी पालेनन् । लामकाने बाख्रादेखी लोकल कुखुरासम्म पाले ।
बोयलर कुखुरा,लोकल हाँस, चिनियाँ हाँसको फार्म पनि खोले । बंगुर फार्म पनि खोले । सफलता के हो ? उनले अनुभव गर्न पाएनन् । बंगुर फार्ममा आर्थिक क्षति त भयो नै,‘बाहुनको छोरो भएर सुँगुर पालेको’, ‘सुँगुरे बाहुन’ भनेर खिसिट्युरी गरेपनि उनले पेसा व्यवसाय गर्न छाडेनन् ।
पशुपालनमा सफलता नपाएपछि उनी कृषि कार्यमा होमिए । दुई हल राँगा पालेर ८ बिगाहामा धान खेती गरे, त्यो पनि काम लागेन । त्यसपछि उनले साझेदारीमा धान काँटा गरे, त्यसमा ऋणको भारी मात्र बोक्नु परेको अनुभव सुनाए ।
धान काँटामा असफल भएपछि गाउँको व्यापार काम नलाग्ने निष्कर्ष निकाले र बिर्तामोडमा इस्टर्न टिभी कम्पनी खोलेको कथा सुनाए । भारतबाट ब्ल्याक एण्ड वाइट टिभीका पाटपूर्जा ल्याएर फिटिङ गर्ने र पूर्वी नेपालमा बिक्री गर्न थाले ।
टेलिभिजनको व्यापारले राम्रै गति लिँदैथियो । ‘साउको ऋण पनि थियो, बजारमा धन (उधारो) पनि थियो’, उनले विगत सम्झँदै भने, ‘तर त्यसैबेला सशस्त्र द्वन्द्वको चपेटामा परँे, शिक्षण पेसा छाडेर भारत विस्थापित भएँ । ‘उनी विस्थापित भएपछि टेलिभिजनको व्यापारमा ब्रेक लाग्यो, श्रीमती निरु र कर्मचारीले केही समय धाने पनि ऋणको भारले नराम्ररी थिच्यो । उनी भारतबाटै साउदीअरब पुगे । साउदी पुगेर लरीका चालक बनेका उनले बैंकबाट घरजग्गा लिलाम हुनबाट जोगाए ।
शान्ति प्रक्रियापछि भने गाउँ फर्किएका गौतमले ट्याक्टरबाट कृषकको खेत जोत्ने व्यवसाय सुरु गरे । साझेदारी, त्योपनि अरुको भरमा त्यसले केही नभएको उनले विगत सम्झिए । त्यसैबीचमा उनले शिक्षण पेसामा पुनर्बहालीका लागि गरेको कारबाहीमा सरकारले द्वन्द्वपीडितको रुपमा उनलाई पुनर्बहाली गर्यो । र, उनी शिक्षण पेसामा फर्किए ।
बोयर बाख्रा पालन
शिक्षण पेसामा फर्किएको केही वर्षपछि उनले उन्नत जातको बाख्रा पाल्ने उद्देश्यले विभिन्न बोयर बाख्रा फर्ममा श्रीमती निरुलाई लिएर गए । एउटा पाठाको दाम कति पर्छ भनेर सोध्दा फर्म एक फर्म सञ्चालकले २८ लाखसम्म पर्ने बताए । अर्का फर्म सञ्चालकले किन्ने नसक्ने जवाफ दिए । तैपनि उनी बोयर बाख्रा कहाँ पाइन्छ भनेर खोज्न लागि परे ।
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-boyar-1-768x512.jpg)
एक दुई माउबाट सुरु गर्ने योजना बनाएका गौतम सुनसरीको एक फर्ममा पुगे । फर्म सञ्चालक र गौतमबीच कुरा हुँदै जाँदा अफ्रिकन जातको दुई वटा बोयर माउ, एउटा बोका, बोयर क्रस र स्थानीय जातकागरी ४६ बाख्रा रहेको फर्मका सबै बाख्रा खरिद गरेर फर्मको सुरु गरेको बताउँछन् ।
२०७४ सालबाट सुरु गरेको पाख्रा पालन व्यावसाय अहिले गौतम बोयर फर्मका नामबाट प्रसिद्ध छ । उनले उत्पादन भएका पाठापाठी पूर्वी नेपालका अलावा सुर्खेत, सिन्धुपाल्चोक, संखुवासभा, इलाम, पाँचथर लगायतका जिल्लाका कृषक तथा कृषक समूहले खरिद गर्ने गरेको उनले बताए । उनले फागुन मसान्तसम्म पाठापाठी अर्डर भइसकेको बताए ।
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-boyar2-768x512.jpg)
फर्ममा १०० प्रतिशतका अफ्रिकन जातका बोयर जातका बोका दुई वटा र माउ बाख्रा पाँचवटा रहेका छन् । उनको फर्ममा अस्ट्रेलियन जातका बोयर माउ बाख्रा ६ वटा छन् । गौतम बोर फर्ममा ७५ प्रतिशत र ८७ प्रतिशतका लगभग एक सय बोयर क्रस बाख्रा छन् ।
सुरुमा पालिएका दुई वटा लोकल माउ भने बिक्री नगर्ने गरी उनले पालेका छन् । उनको फर्ममा एक सय भन्दा बढी बाख्रा र बोका छन् भने ४० देखि ५० वटा ब्याउने अवस्थामा छन् । लगभग ४० माउ सधैँब्याउने अवस्था हुने गौतमले बताए ।
बोयर अफ्रिकन जातको एउटा खसी एक वर्ष पाल्दा ७० देखि ८० केजीसम्म हुन्छ भने ७५ देखि ८७ प्रतिशतसम्मको ५०देखि ६० केजी तौल हुने गर्दछ । बोयर बाख्राको मासुमा बोसोको मात्रा कम हुने भएकाले स्वादिलो हुने बताइन्छ । नेपालमा बोयर जातको बाख्रा पालन हाल प्रजनन्का लागि उत्पादन हुने गरेको गौतमले जानकारी दिए ।
बाख्राका लागि उनले दुई बिगाहाजमिनमा मकै, जौ, वर्सिम, राई घाँस जस्ता सिजनल घाँस लगाएका छन् भने १ बिगाहमा स्टाइलो, साम्बा, सिरेरियो, सिओफोर, नेपियर, सुपर नेपियर घाँस लगाएका छन् ।
फर्ममा एक करोड भन्दा बढीको लगानी भइसकेको गौतमले बताए । उनका सबै काममा श्रीमती निरुले साथ दिएकी छन् । बिहानदेखि मध्यरातसम्म दुई जना बाख्राको श्यारचाकरमा सक्रिय हुन्छन् । उनको फर्ममा आफूहरु दुई जना र अन्य दुई जना नियमित कामदार छन् भने अन्य कामदार आवश्यक्ता अनुसार लगाउने गरेका छन् । गौतमले फर्ममा समय दिन नसकेपछि स्कुलमा बेतलवी बिदा लिएका छन् ।
पशु प्राविधिक प्रेम पौडेल र पशु विशेषज्ञ डाक्टर दीलिप सापकोटा बाख्राको स्वास्थ्य जाँच गर्ने गरेका छन् । त्यसो त बाख्रामा आउने सानो तिनो समस्याको पहिचान र उपचार उनी आफैँ गर्न सक्ने भएका छन् ।
सञ्चालक गौतम बोयर जातका बाख्रा कसरी पालन गर्ने, त्यसको बजार व्यावस्थापन लगायतका विषयमा जानकार भइसकेका छन् । बाख्रापालन गर्न इच्छुकलाई उनी आफैँ सल्लाह, सुझाव दिने गरेका छन् ।
‘मेहनत र बजार राम्रो हुँदा मात्र व्यवसायमा सफलता हुने रहेछ’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘पैसाका लागि विदेशिनु पर्छ भन्ने छैन, यहीँ पनि केही गर्न सकिन्छ ।’उनले वाणिज्य बैंकबाट कृषि कर्जा लिएपनि अनुदान कहीँ कतैबाट नपाएको बताए । ‘सरकारले अनुदान बाँड्छ भन्ने सुनेको छु तर कस्ता किसानले पाउँछन् भन्ने थाहा पाउन सकेको छैन’, गौतमले भने, ‘सरकारले काम गर्ने किसान प्रोत्साहित गर्नुप¥यो ।’
बाख्रासँगै टर्की
गौतमको बोयर बाख्रापालन सफल भएपछि उनले टर्की कुखुरापालन सुरु गरेका छन् । ५३ वटा टर्की रहेको उनको फर्ममा अण्डा उत्पादनका लागि ४० वटा टर्की छन् । पाँच वटा पोथी टर्की बराबर एक भाले टर्की राखिने गरेको उनले बताए ।टर्कीका लागि व्यवस्थित खोर बनाएर टर्की उत्पादन गर्ने बताए । उनले लोकल कुखुराको मूल्यमा टर्की बिक्री गर्ने योजना सुनाए ।
बाख्राले नखाएको कलिलो जातका घाँस टर्कीले खाने भएकाले घाँसको सदुपयोग हुने ह्याचरी प्राविधिक खगेन्द्र अधिकारीले जानकारी दिए । टर्कीले स्टाइलो, राईग्रास, वर्सिम जस्ता कलिला जातका घाँस खाने गरेको प्राविधिक अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार घाँस खाने भएपछि थोरै दाना खुवाउन सकिने भएकाले उत्पादनमा लागत कम हुन्छ ।
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-tarki-768x512.jpg)
टर्की र बोयर बाख्राको वृद्धि छिटो हुने र दुवैको बिक्री हाल मासुका लागि भन्दा बिउका लागि हुने भएकालेबजारको सम्भावना पनि राम्रो भएको उनले बताए ।ह्याचरी प्राविधिक खगेन्द्र अधिकारीले प्राविधिक सहयोगमा उनले चल्ला उत्पादनका दुई वटा मेसिन ल्याएका छन् । फागुनको पहिलो साताबाट टर्कीको चल्ला उत्पादन हुने बताए ।
छोरालाई बनाए पशु डाक्टर
गौतमले छोरा प्रतीकलाई पशु डाक्टर अध्ययन गराएका छन् । छोराको अध्ययनले फर्मलाई धेरै सहयोग पुगेको उनले सुनाए । व्यवसाय र छोराको अध्ययन एउटै भएकामा गौतम र उनकी श्रीमती निरु खुसी छन् । पशु चिकित्सक अध्ययन समाप्त गरेका प्रतीक भने डाक्टर उपाधिको पर्खाइमा छन् ।
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-boyar-3-768x512.jpg)
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-boyer-4-768x512.jpg)
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-boyar-6-768x512.jpg)
![](https://www.sajilokhabar.com/wp-content/uploads/2020/02/gautem-boyre-5-768x512.jpg)