Logo

बुद्धशान्तिमा फौजी किराको आक्रमणः ७ सय हेक्टरको मकै सखाप



झापा, ३१ बैसाख । कोरोना भाइरसका कारण देशभर लकडाउनको चिन्ता भइरहेको बेला झापाको बुद्धशान्ती गाउँपालिकाका किसानलाई भने आफ्नै खेतीको चिन्ताले सताएको छ ।

हिउंदे बालीको रुपमा फस्टाइरहेको मकै खेती फौजी किराले सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन । भर्खर भुई छोड्दै गरेको र धानचमरा आउन सुरुभएका मकैमा फौजीकिराको संक्रमण देखिएपछि यहाँका किसानलाई लकडाउनभन्दा खेतीको चिन्ताले सताएको हो ।

दस कठ्ठा जमिनमा लगाएको मकै फौजी किराले सखाप पारेको भन्दै बुद्धशान्ती ६ बाबरीटार कि किसान चम्पा खतिवडाले चिन्ता व्यक्त गरिन् । मकैमा यस्तो किरा पहिलो पटक लागेको भन्दै उनले बारीमा गएर किरा टिप्दै कुखुरालाई दिने गरेको बताइन । किरा लागेको बोट काटेर र किरा टिपेर साध्ये नभएपछि मकैमा विषादी छर्कन बाध्य भएको उनले सुनाइन् ।

बुद्धशान्ती मूल कृषक समूह वडा न। ५ का अध्यक्ष धन बहादुर श्रेष्ठले मकैमा फौजी किरा पहिलो पटक लागेको भन्दै मकैमा बीस नै छर्कनु पर्ने अवस्था आफ्नो कृषि क्षेत्रको २० बर्षको अनुभबमा पहिलो पटक भएको बताए ।

बुद्धशान्ती गाउँपालिका भरी नै यो समस्या रहेकाले यसको नियन्त्रणको लागी गाउँपालिकाले विषादी दिएको र धेरै किरा लागेको किसानलाई त्यो बिसादी दिई सकेको उनले जानकारी दिए ।

विशेष गरी मकैको गुबामा यो किराले आक्रमण गर्ने भएकाले बिषादी नहाने सखापनै पार्ने बुद्धशान्ती मुल कृषक समूह वडा न. ६ का अध्यक्ष प्रेम न्यौपानेले बताए । गाउँपालिकाले सबै वडाका कृषि समूहलाइ इमामेक्टिममेन्जेट नामक औसधि निशुल्क दिएता पनि सबै किसान लाई पर्याप्त नभएको उनले गुनासो गरे ।

त्यस्तै बुद्धशान्ति १ स्थित होक्सेका किसान दमोदर ढुंगानाको खेतीमा पनि फौजी किराले संक्रमण गर्न थालेको छ । ‘यस अघि लगाएको धानवाली पनि फड्के किराले सखाप पारेको थियो अहिले मकैमा पनि नयाँ रोग फौजी किराले संक्रमण गर्न थालेको छ’ उनले दुख व्यक्त गरे ।

गाउँपालिका स्थित कृषि शाखालाई यसको बारेमा जानकारी गराउँदा विषादी लिएर जान अनुरोध गरेको उनले बताए । फौजी किराका बारेमा बुद्धशान्ति गाउँपालिका स्थित कृषि शाखाका प्रमुख कृष्ण ढुंगेलले बुद्धशान्तिको लगभग ७ सय हेक्टर बढिमा यसले क्षति गरेको बताए ।

फौजी किरा बुद्धशान्तिमा वडा नं २ स्थित जयपुरबाट करिब १० दिन अघि देखि सुरु भएको र हाल सम्पूर्ण वडामा फैलिएको उनले बताए । फौजी किराका नियन्त्रणकोलागी कृषि मन्त्रालयले वितरण गरेको विषादी बुद्धशान्तिको कृषि शाखाले निःशुल्क रुपमा वितरण गर्दै आएको उनले बताए ।

हालसम्म बुद्धशान्तिमा करिब ३०० भन्दा बढि कृषकहरुले औषधी लगिसकेको र फौजी किराको संक्रमण भएमा तुरुन्त कृषि शाखामा समन्वय गरी निशुल्क रुपमा औषधी लैजान उनले अनुरोध गरे ।

औषधी प्रयोग गरेको ठाउँहरुको मकैमा पहिलाको भन्दा धेरै सुधार हुँदै गएकोले फौजी किराको संक्रमण हुन थालेको देखिएमा तुरुन्त औषधी छर्कन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्