Logo

कोरोनाले प्रभावित नभएको बिर्तामोडको पशुपन्छी तथा मत्स्य कार्यक्रम



बिर्तामोड, ६ फागुन । बिर्तामोड नगरपालिकको योजना तथा कार्यक्रम कोरोनाबाट प्रभावित भइरहेको बेला पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका कार्यक्रम भने सन्तोषजनक रुपमा सञ्चालन भइरहेका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा पशुपंक्षी तथा मत्स्य विकास क्षेत्रका लागि कुल १ करोड बजेट विनियोजन गरेकोमा माघ मसान्तसम्ममा पशुपन्छी तथा मत्स्य लक्षित कार्यक्रम आधा भन्दा बढी सम्पन्न गरिसकेको छ ।


नगरपालिकाले नश्ल सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १८ लाख ६० हजार विनियोजन गरेको छ । कृतिम गर्भाधान अनुदान कार्यक्रममा गाई, भैंसी र बाख्रालगायत ६ हजार पशुको गर्भाधान कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको शाखाले ६ महिनाको अवधिमा ३ हजार ५ सय पशुमा गर्भाधान कार्यक्रम सम्पन्न गरेको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रीकुमारी दाहालले बताइन् । त्यसैगरी सामुदायिक कुकुर बन्धाकरण कार्यक्रम सम्पन्न भएको छ भने लिक्वीड नाइटोजन खरिद कार्यक्रम र गाईमा बाझोपन निवारण कार्यक्रमसमेत चालु अवस्थामा रहेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा पशु स्वास्थ्य कार्यक्रमका लागि १२ लाख १९ हजार बिनियोजन गरेकोमा पशु उपचार तथा डिस्पेनसरी, प्रयोगशाला, आकस्मिक उपचार, स्वस्थ्य दुध उत्पादन तथा निवारण कार्यक्रम सञ्चालन गरिरहेको शाखा प्रमुख दाहाल बताउँछिन् । शाखाले गएको असोज १२ गते रेविज खोप कार्यक्रम समेत सम्पन्न गरी सकेको छ ।

नगरपालिकाले कृषक साझेदारी कार्यक्रममा ५ वटा समूह र ३८५ कृषकलाई १४ सय ५० केजी हिउदे घासको बिउ वितरण गर्नुका साथै साझेदारी कार्यक्रम अन्र्तगर्त बर्खे घासको लागिसमेत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले हरेक वर्ष नगर प्रमुख पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका लागि चालु अर्थिक वर्षमा १९ लाख ८१ हजार बजेट बिनियोजन गरेको छ । शाखाले नगर प्रमुख पकेट प्याकेज अन्तरगत बाख्रा साटासाटका लागि दुई वटा समूहका ३० जना कृषक तथा वंगुर साटासाटका लागि एउटा समूहका १५ जना कृषकका लागि खोर सुधार कार्यक्रमको तयारी सुरु भइसकेको शाखा प्रमुख दाहालले बताइन् ।

बिर्तामोड नगरपालिका, सहारा नेपाल र व्यवसायीको लागतमा साझेदारी पशु विकास कार्यक्रमले अघिल्लो वर्ष झैँ चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । यस वर्ष ६० जना कृषकलाई च्याप्टर(कुटी काँटने मेसिन), ४० जना कृषकका लागि बाख्रा फार्म, ८६ जना कृषकका लागि गाईको गोठ, २० जना कृषकका लागि वंगुर फार्म र ५ वटा मासु पसल निर्माणको प्रक्रिया सुरु भइसकेको शाखा प्रमुख दाहालले बताइन् ।

नगरपालिकाले मासु पसल व्यवसायीलाई मापदण्डभित्र मासु पसल सुधार कार्यक्रममा चार वर्षको अवधिमा हालसम्म नगर क्षेत्रभित्रका ३५ वटा पसललाई सुधार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्