Logo

स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ: सिंह



काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताए ।

“गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ,” नेता सिंहले भने ।

पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका थिए ।

नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्