Logo

काठमाडौँ महानगरपालिकाद्वारा छ महिनामा लगभग पाँच अर्ब राजस्व सङ्कलन



काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको महानगरले जनाएको छ ।

गत वर्षको सोही अवधिमा अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिको तुलना गर्दा यस वर्ष ३५ करोड रुपियाँले बढी राजस्व असुल भएको नगरपालिकाले जनाएको छ ।

चालु आवका लागि महानगरले करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । महानगरले राजस्व सङ्कलनमा कडाइ गरेसँगै छ महिनामा लक्ष्यको आधा राजस्व सङ्कलन गरेको हो ।

महानगरले सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

छ महिनामा सबैभन्दा बढी घरबहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो ।

यतै सम्पत्ति करबापत ६७ करोड ३१ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार पर्यटन शुल्कबापत आठ करोड ४६ लाख ९५ हजार, व्यक्तिगत आन्तरिक शुुल्क ८७ लाख, अन्य बिक्रिबाट प्राप्त रकम ८५ लाख, अन्य सेवा शुल्क १६ करोड १५ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । पार्किङ शुल्कबापत ९५ लाख ६५ हजार, नक्सा पास दस्तुरबापत ३१ करोड ६५ लाख ३४ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

सिफारिस दस्तुरबापत तीन करोड ८१ लाख ५६ हजार रुपियाँ, व्यक्तिगत घटना दर्ता दस्तुर ४९ लाख, नाता प्रमाणित दस्तुरबापत २६ लाख ८२ हजार, व्यवसाय रजिस्ट्रेसन दस्तुरबापत एक करोड १७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै प्रशासनिक दण्ड जरिबाना र जफतबापत एक करोड २६ लाख ६७ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ ।

विगतका केही वर्ष कोरोना महामारीका कारण लक्ष्य अनुरूप राजस्व सङ्कलन नभएपछि चालु आवमा भने लक्ष्य पूरा हुने देखिएको महानगरले जनाएको छ । पछिल्लो समय राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गर्न सहज भएको महानगरले जनाएको छ ।

महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घर भाडामा लगाउँदा वा घर खाली गराउँदा दुवैबारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्ने छ ।

लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गरेको हुनुपर्ने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्