Logo

गठबन्धन दशौँ वर्षसम्म टुट्दैन ः नेता सिटौला



ओखलढुङ्गा, ४ माघ । नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनाव नटुट्ने बताएका छन् ।

मत माग्न ओखलढुङ्गा आएका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताएका छन् ।

गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो । ‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन । संविधान विपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२÷६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ ।” उनले भने, “यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।”

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यो अवस्था सुधार गर्न नेता सिटौलाले अपिल गरे । कोशी प्रदेशका जिल्लामा मत माग्ने क्रममा कांग्रेस नेता तथा उम्मेदवार सिटौला र गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की ओखलढुङ्गा आएका हुन् । उम्मेदवारले गठबन्धनबाट जितेका नगरपालिका प्रमुख, उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग भेट गरेका छन् । जिल्ला तथा प्रदेशका गठबन्धनबाट चुनाव जितेका जनप्रतिनिधिले गठबन्धनको मत अन्यन्त्र नजाने वाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्