Logo

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्ष जेल सजाय



पाकिस्तान, १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको एउटा अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको हो ।

उक्त मुद्दा वासिङ्टन र इस्लामाबादबिचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ । ती दस्ताबेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए ।

खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका थिए । प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खानले भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका रहेका छन् । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गरेका छन् ।

गोप्य ऐन अन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको छ जसमा उनलाई उम्मेदवार हुन निषेध गरिएको छ । खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि विशेष अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

खानलाई अगस्टदेखि हिरासतमा राखिएको जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि यस मुद्दाको सुनुवाइ भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्