Logo

गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्यो: अध्यक्ष ओली



सिन्धुपाल्चोक, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकका पाँच पोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुरमुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए ।

एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेको बताए । उनले गठबन्धनका दलबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्रै बढी सुनिएको बताएका हुन् ।

उनले भने, ‘‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरूले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ ।’’

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका थिए । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हेरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाए । ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्