Logo

अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदलाई कांग्रेसको निर्देशन



काठमाडौँ, १९ माघ । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको हो । विगतमा संसदको बैठक तथा समिति बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले नेपाली कांग्रेसका सांसद निरन्तर रुपले सभा र समितिमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताए । उनले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदलाई राजधानी नछोड्न निर्देशन दिइएको बताएका छन् ।

यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उनले स्पष्ट पारेका थिए ।

काँग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशीलतापूर्वक समिति र सभाको गतिविधिमा भाग लिन पनि सांसदलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए ।

बैठकले सभा र समितिको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ । बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यसैगरी कांग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दललाई अपील पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्