Logo

एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ: उपाध्यक्ष पौडेल



लुम्बिनी, २२ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेता पौडेलले नेकपा एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गरे । उनले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरुका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए ।

नेता पौडेलले पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध सङ्गठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि स्पष्ट पारेका थिए ।

उनले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताए । “अराजकतालाई पार्टीले कहिल्यै पनि प्रश्रय दिँदैन र यस्ता क्रियाकलापलाई सदैव नियन्त्रण गर्छ । पार्टीमा होस् या जहाँ पनि अराजकताले कहिल्यै जित्दैन र अनुशासनले कहिल्यै हार्दैन ।”

प्रतिक्रिया दिनुहोस्