Logo

कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनुपर्छ: महामन्त्री थापा



काठमाडौँ, २६ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए । “संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो”, उनले भने । उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरेका थिए । उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताए । “दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन”, उनले भने ।

महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए ।

त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौँका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गरे । उनले विस २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरेका थिए । “आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ”, उनले भने ।

नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आम नागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताए । उनले पार्टीका नेता होइन कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्