Logo

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल



 

काठमाडौँ, ७ जेठ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रियसभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताउनुभयो । “समस्या समाधानका लागि राष्ट्रियसभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ । त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले महत्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने आफ्नो स्थानबाट उठेर विरोध जनाइरहे पनि अध्यक्ष दाहालले आजको बैठक स्थगन गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्