Logo

विश्वकप टी–२० मा हेर्नलायक एसोसिएट टिम



काठमाण्डौ ९ जेठ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने विश्वकप टी–२० क्रिकेटमा यसपालि २० टिमको सहभागिता रहेको छ । जसमध्ये नेपाल, आयोजक अमेरिका, क्यानडा, नामिबिया, स्कटल्यान्ड, ओमान, पपुआ न्युगिनी, युगान्डा र नेदरल्यान्ड्स जस्ता एसोसिएट राष्ट्रले पनि टी–२० को सबभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्दै छन् । एसोसिएट टिममध्ये पनि नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानलाई हेर्नलायक टिमका रूपमा लिइएको छ ।

नेपाल

विश्वकप टी–२० क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले एक दशकपछि विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा नेपालले विश्वकप टी–२० क्रिकेटमा पदार्पण गरेको थियो । नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर अमेरिका र वेस्ट इन्डिजको टिकट काटेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आइसिसी टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो । यद्यपि फाइनलमा हारे पनि नेपालका लागि यो प्रतियोगिता उपलब्धिपूर्ण रह्यो । यस प्रतियोगिताको सेमिफाइनलमा युएईलाई हराएपछि नै नेपाल टी–२० विश्वकपमा चयन भएको थियो ।

सन् २०१४ मा विश्व क्रिकेटको मञ्चमा सहभागी मात्र होइन, क्रिकेटको महाकुभ्ममा तीनमध्ये दुई खेलमा जित निकाल्ने टिम हो नेपाल । सो समय रनरेटका आधारमा मात्र नेपाल विश्वकपको सुपर दसमा प्रवेश गर्नबाट वञ्चित भएको थियो । नेपाल यसपालि दस वर्षअघि गरेको प्रदर्शनलाई पछाडि पारेर समूह चरणभन्दा अगाडि बढ्ने अभियानमा छ । आगामी विश्वकपमा २१ वर्षीय कप्तान रोहित पौडेललाई नेपालका महìवपूर्ण खेलाडीका रूपमा लिइएको छ । विश्वकप टी–२० २०२४ कै सबभन्दा कम उमेरका रोहितले आफ्नो कप्तानी मात्र होइन, ब्याटिङमा राम्रो लय पनि देखाउनुभएको थियो । गत महिना बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृङ्खलामा रोहित चार पालिमा एक शतक र दुई अर्धशतकसहित सर्वाधिक रन बनाएर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । रोहितको लय नेपालका लागि विश्वकपमा महत्वपूर्ण बन्ने पक्का छ ।

नेदरल्यान्ड्स

एसोसिएट टिम भए पनि नेदरल्यान्ड्स विश्वकपमा सधैँ राम्रो गर्ने टिम हो । नेदरल्यान्ड्सले लगातार विश्वकप टी–२० क्रिकेट खेल्दै छ । पछिल्लो संस्करणमा समूह चरण पार गरी सुपर १२ मा पुगेपछि नेदरल्यान्ड्सलाई सम्मानका साथ हेरिन थालिएको हो । यसपालि पनि नेदरल्यान्ड्सले सुपर आठमा पुग्ने लक्ष्य लिएको छ । सन् २०२२ मा गरेको प्रदर्शनलबाटै नेदरल्यान्ड्सले यस संस्करणमा सहभागिता पक्का गरेको थियो । पछिल्लो विश्वकपमा शानदार प्रदर्शनलगत्तै नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पनि स्तब्ध बनाएको थियो । यसपालि नेदरल्यान्ड्स र दक्षिण अफ्रिका एउटै समूह ‘डी’ मा परेको छ । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकाविरुद्ध सोही प्रदर्शन दोहोर्‍याउने अपेक्षा गरेको छ । सो समूहमा नेपाल, बङ्गलादेश र श्रीलङ्का पनि रहेका छन् ।

नेदरल्यान्ड्सको सफलतामा शीर्ष ब्याटिङ क्रमको महत्वपूर्ण भूमिका रहने छ । नेदरल्यान्ड्सलाई विस्फोटक ब्याटिङ गर्ने प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओ डाउडबाट धेरै अपेक्षा छ । उहाँ नेदरल्यान्ड्सको टी–२० संरचनामा सबभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुनुहुन्छ ।

नामिबिया

नामिबिया लगातार तेस्रो पटक पुरुष टी–२० विश्वकप खेल्दै छ । अफ्रिकी क्वालिफायरमा शतप्रतिशत जितको नतिजा निकालेर नामिबिया अमेरिका र वेस्ट इन्डिजमा खेल्न योग्य भएको हो । सन् २०२१ मा पहिलो पटक विश्वकप खेल्दा नै नामिबियाले सुपर १२ मा स्थान बनाएको थियो । सो संस्करणमा नामिबियाले नेदरल्यान्ड्स र आयरल्यान्डलाई हराएको थियो । पछिल्लो संस्करणमा पनि नेदरल्यान्ड्सले श्रीलङ्कालाई हराएर वाहवाही कमाएको थियो । यसपालि नामिबियाको समूहमा इङ्ग्ल्यान्ड र अस्ट्रेलिया जस्तो प्रमुख दाबेदार टोली छन् । नामिबियाले आगामी विश्वकपमा आफ्ना कप्तान तथा अलराउन्ड जेरार्ड इरास्मसबाट धेरै अपेक्षा गरेको छ । सन् २०२३ मा इरास्मस आइसिसी एसोसिएट क्रिकेटर अफ दी इयर घोषित हुनुभएको थियो ।

स्कटल्यान्ड

स्कटल्यान्ड एक सशक्त एसोसिएट टिम हो । आइसिसी पुरुष टी–२० विश्वकपमा लगातार चौथो पटक खेल्न लागेको तथ्यबाट पनि स्कटल्यान्डको क्षमता थाहा पाउन सकिन्छ । यसपालिको छनोटमा पनि प्रभावशाली प्रदर्शन गरेको स्कटल्यान्ड दोस्रो पटक नकआउटमा पुग्ने दाउमा छ । स्कटल्यान्डले युरोपेली छनोटबाट छिमेकी तथा टेस्ट मान्यताप्राप्त आयरल्यान्ड पछाडि पार्दै शीर्ष स्थान बनाएको थियो । सो प्रदर्शनले पनि स्कटल्यान्ड उच्च मनोबलका साथ टी–२० विश्वकपमा खेल्ने छ । स्कटल्यान्डको टिमबाट २५ वर्षीय बलर ब्राड क्युरीलाई म्याच विनरका रूपमा हेरिएको छ ।

ओमान

गत कात्तिकमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ नेपाली समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइसिसी टी–२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको थियो । ओमानले आठ टिम सहभागी प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको होे । त्यसैले पनि ओमानलाई विश्वकप टी–२० मा कुनै टिमले हलुका रूपमा लिएको छैन । पछिल्लो संस्करणमा चयन हुन नसकेको ओमान पुनः टी–२० को सबभन्दा ठुलो मञ्चमा फर्केको हो । ओमानले विश्वकप टी–२० मा अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । एसिया क्वालिफायरमा प्लेयर अफ दी टुर्नामेन्ट बन्ने उपकप्तान अकिब इलियास ओमानका महत्वपूर्ण खेलाडी हुनुहुन्छ, गोरखापत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्