Logo

तत्काल एमालेसँग एकताको सम्भावना देखिएनः अध्यक्ष नेपाल



काठमाडौँ, २६ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेकपा ९एकीकृत समाजवादी० कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो ।

‘‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौँ । त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौँ । परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘कमरेड प्रचण्डको भूमिका सकारात्मक रुपमा लिएका छौँ । उहाँले मधेश प्रदेशको बारेमा एक जना मन्त्री थप्ने भूमिकामा, बागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिनेकुरामा, सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री दिन उहाँले नै भन्नुभयो ।’’

उहाँले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चाको पुनर्गठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताउनुभयो ।

‘उहाँले खेलेको भूमिका सकारात्कम छ । मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै सकारात्कम हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन । हिजोको कुरा पनि बिर्सौं ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘किनभने चाहना त हुनुपर्छ नि । अहिले के देखिएको छ भने सँगै जाऔँ भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाउर अघि जाऔँ भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ । समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिट्टै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनर्गठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ ।’’

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुट्याउन जरुरी रहेको औंल्याउनुभयो । देश विकास हुने मार्गहरुको पहिभान गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्