Logo

जलथल खानेपानीका अध्यक्षले टेरेनन् गाउँपालिकाको निशुल्क खानेपानी वितरणको निर्णय



झापा, २ असार । जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितीले स्थानीय सरकार हल्दीबारी गाउँपालिकासँग गरेको संयुक्त बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन नगरी उपभोक्ताहरूलाई खानेपानीको बिल तिराउने गैरकानुनी काम गर्ने गरेको छ।

हल्दीबारीमा रहेका जलथल, हल्दीबारी र गोलधाप खानेपानीका सबै उपभोक्ताहरूलाई मासिक १० हजार लिटरसम्म निशुल्क खानेपानी उपलब्ध गराउने गाउँसभाबाट निर्णय गरी कार्यान्वयन समेत गरिसक्दा हल्दीबारी र गोलधाप खानेपानीले निर्णय लागु गरी सम्झौता गरिसकेका छन्

तर जलथल खानेपानीले भने अनेक बहानामा सम्झोता नगरी उपभोक्तासँग शुल्क असुल गर्ने गरेको पाइएको छ ।

जलथल खानेपानीले खानेपानीको महशुल अशुल्न थालेपछि स्थानीय सरकारको निर्णयको विपरित शुल्क नउठाउन र उठाइएको शुल्क फिर्ता गर्न र नियमानुसार गाउँपालिकाबाट विनियोजन भएको बजेट निकासा गर्न गरिएको आग्रह समेत नकारेर स्थानीय सरकारसँग टक्कर लिएको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले वताउनुु्भयो।

हल्दीबारीले गत आर्थिक वर्ष २०७९/८० देखि नै खानेपानीमा छुट दिदैँ आएको छ । उक्त लोकप्रिय कार्यक्रमलाई चालु आर्थिक वर्ष २०८०/८१ मा पनि निरन्तरता दिएको पालिका अध्यक्ष लिङदेनले जानकारी दिनुुभयो ।

गाउँपालिकाको १५ औं अधिवेशनमा नीति तथा कार्यक्रम पास गरी बजेटको व्यवस्था गरेर निःशुल्क खानेपानी उपलब्ध गराउँदै आएको हो ।

सबै खानेपानी उपभोक्ता समितिसँग बैठक बसेर गाउँपालिका र समितिबीच द्विपक्षीय सम्झौता गरेर १० हजार लिटरसम्म पानी उपभोग गर्दा निशुल्क उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो । सो निर्णय बमोजिम अन्य खानेपानी उपभोक्ता समितिले काम गरेपनि जलथल उपभोक्ता समितिले १० हजार लिटर पानी खपत हुँदा समेतको महसुल संकलन गरिरहेको छ।

यस विषयमा जलथल खानेपानी समितिका अध्यक्ष केदार उप्रेती सहित समितिका पदाधिकारीहरु संग पटक पटक बैठक बसि सम्झौता गर्ने र कुनै अप्ठ्यारो परिस्थिति आए पालिकाले त्यसको समाधान समेत गरिदिने सहमती भएको थियो।

निति तथा कार्यक्रम विपरीत सम्झौता नगरेर शुल्क उठाएपछि पटक पटक कार्यक्रम कार्यान्वयनका लागि पत्र समेत पठाइएको थियो। गाउँसभाबाट अनुमोदन गरिएको निर्णयको बर्खिलाप हुने गरी त्यस्तो कार्य नगर्न नगराउन दिएको निर्देशनको समेत वेवास्ता गरेको छ।

निःशुल्क खानेपानी उपलब्ध गराएबापत गाउँपालिकाले उपभोक्ता समितिको कर्मचारीको तलब भत्ता, महसुलदेखि इन्धनको खर्च गाउँपालिकाले व्यहोर्ने गरि सम्झौता भएको गाउँपालिका अध्यक्ष लिङदेनले जानकारी दिनुभयो। पालिकाले सबै खानेपानीका लागि आर्थिक वर्ष २०८०/८१ का लागि २५ लाख रूपैया बजेट छुटयाएको थियो।

जनतालाई स्थानीय सरकारले निशुल्क सेवा सुविधा दिएर केही मात्रामा भएपनि निशुल्क सेवा पाएको आभास दिलाउन गरेको कार्यक्रमको लोकप्रियता बढ्दै गएपछि राजनीतिक प्रतिसोधको भावनाले यस्तो गतिविधि गरिएको उहोको आरोप छ। जलथल खानेपानीमा नेकपा एमालेबाट वडा नं ४. मा निर्वाचित भएका निवर्तमान वडा सदस्य केदार उप्रेती अध्यक्ष हुनुन्छ ।

खानेपानी समितिले जुन उपभोक्ताबाट गाउँपालिकाको निर्णयविरुद्ध जति शुल्क लिएको छ सो रकम निशर्त सबै फिर्ता गर्नुपर्ने अध्यक्ष लिङदेनले वताउनुुभयो । हाल हल्दीबारी गाउँपालिका भित्रका करिब तीन हजार परिवारले निस्शुल्क खानेपानीको सुविधा लिइरहेका छन् ।

आज हल्दीबारीमा नेकपा एमालेले जलथल खानेपानीको समस्या समाधान गराउन माग शान्तिपूर्ण र्याली सहित ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र बुझ्दै अध्यक्ष लिङदेनले निति तथा कार्यक्रममा समावेश निशुल्क १० हजार लिटर खानेपानी कार्यक्रम संचालनमै रहेको र जलथल खानेपानीले आफै मनोमानी गरेकोले जनतालाई भ्रममुक्त पारिदिन आग्रह गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्