Logo

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै



काठमाडौं, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ।

फाण्डेसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जबज: राजनीतिक विकास र स्थायित्व विषयक बिचार गोष्ठी आयोजना गर्न लागेको हो । दिउसो १।३० बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यक्रम आयोजना गरिएको फाण्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा फाण्डेसनले हरेक वर्ष प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिनुभयो ।

वि।सं।२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिनुभएका भण्डारीको निधन वि‍‍.स.२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी भएको थियो।

जननेता मदन भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्