Logo

संविधान संशोधनको पक्षमा पार्टी उभिने राप्रपाको निर्णय



काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संबिधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संबिधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको जानकारी दिनुभएको हो ।

अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफुहरुले नजिक बाट हेर्ने र सोहि अनुसार निर्णय गर्ने उहाँले बताउनुभयो ।

उहाँले आफूहरुले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताउनुभयो ।

त्यस्तै  बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राप्रपा संविधान संशोधनको पक्षमा रहेको बताउनुभयो । उहाले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिनुभयो ।

“राप्रपा संविधान संशोधनको पक्षमा छ । परिस्थिति मूल्यांकन गरेर अन्य विषयमा निर्णय हुन्छ,” उहाले भन्नुुभयो ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।

गएराति दुई दलबीच नयाँ सरकार बनाउने, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका विषयमा सहमति जुटेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्