Logo

मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम



 

काठमाडौँ, २१ असार । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । दाङको कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहेकालाई सावधानी अपनाउन महाशाखाले भनेको छ । पर्सि आइतवारसम्म देशभर हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा तथा थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च जोखिममा रहेका जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ रहेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पर्सिसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्