काठमाण्डौ, २६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको चौथो तलामा आज शनिबार बिहान भएको आगलागीबाट तीन कोठामा क्षति भएको छ।
तीनवटा कोठामा रहेको भौतिक संरचनासँगै त्यहाँ रहेका कागजात जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार क्षतिको विवरण खानेपानी मन्त्री प्रदीप यादवले संकलन गरिरहनुभएको छ ।
‘४०र५० लाखको क्षति भएको अनुमान गरिएको छ’, एसपी बोहराले भन्नुभयो, ‘तर मन्त्रीज्यूले आधिकारिक विवरण दिइसक्नुभएको छैन।’
यस्तै अहिलेसम्म आगलागीको कारण नखुलेको उहाले बताउनुभयो।
‘अहिलेसम्म आगलागी के कारण भयो भन्ने विषयमा केही खुलेको छैन, एसपी बोहराले भन्नुभयो, ‘उहाँले आशंका पनि केही गर्नुभएको छैन।’
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागी भएको तलामा खानेपानी मन्त्री यादवको कार्यकक्ष थियो।
आगलागीको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। यद्यपि, घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाइएको छ। यसै सन्दर्भमा मन्त्रालयका दुई जना कार्यालय सहयोगीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार आगलागी कसरी भयो भन्ने विषयमा विभिन्न कोणबाट छानबिन भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, तर आगलागीको वास्तविक कारण पत्ता लगाउन थप प्रमाण संकलन गर्ने कार्य भइरहेको छ।
बिहान ८:४५ बजेतिर सुरु भएको आगलागी दमकलको सहायताले १५-२० मिनेटमा निभाइएको थियो।