Logo

३० वर्षदेखि बन्द रहेको पृथ्वीनगर खानेपानी सरकारलाई हस्तान्तरण

घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव



झापा, २७ जेठ । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल खानेपानी संस्थानमा भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उहाले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो।

मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाले देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पार्नुभयो।

पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण योजना दुई वर्ष सञ्चालनमा आएर विगत ३० वर्षदेखि बन्द रहेको बताउनुभयो । उहाले खानेपानी संस्थानमा स्वामित्व हस्तान्तरण गरेसँगै यहाँका जनताले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गर्नुभयो।

संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका–१, २ र ३ का तीन हजार ५०० घरपरिवार लाभान्वित हुने जानकारी दिनुभयो । उहाले मन्त्रालयको उद्देश्य एक घर एक धारामा शुद्ध खानेपानी पुर्‍याउने रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो।

पानीमा आइरनको मात्रा बढी भई खान अयोग्य ठहर भएको कारणले ३० वर्षदेखि बन्द रहेको झापाको भद्रपुर नगरपालिका–२ सोमबारेस्थित पृथ्वीनगर खानेपानी आयोजना पुनः सञ्चालनमा आउने भएको छ ।

पृथ्वीनगर खानेपानी उपभोक्ता समितिले निर्माण गरेको सम्पूर्ण संरचना नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थानलाई हस्तान्तर गरेसँगै लामो समयदेखि बन्द रहेको खानेपानी आयोजना पुनः सञ्चालनमा आउने भएपछि स्थानीयमा खुसी छाएको छ ।

नेपाल खानेपानी संस्थान भद्रपुरको आयोजनामा मंगलबार एक समारोहका बीच खानेपानी मन्त्री प्रदीप यादवले पृथ्वीनगर खानेपानी आयोजना बुझ्दै समुद्घाटन गर्नुभएको हो । खानेपानी उपभोक्ता समितिका सचिव पृथ्वीनारायण कार्कीले खानेपानी मन्त्री यादवलाई आयोजना हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्