झापा, १८ असार । बन्दी सहायता नेपाल तथा जुनकीरी सार्वजनिक आधारभूत विद्यालयकी संस्थापक, पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले आफ्नो ५६औँ जन्मदिन वृक्षरोपण गरेर मनाएकी छन्।
आफ्नो जन्मस्थल अर्जुनधारा नगरपालिका-११ स्थित बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा, जंगल गार्डेन ब्वाइज होम, गङ्गा आमा बालगृह र जुनकीरी सार्वजनिक आधारभूत विद्यालयका सयौं बालबालिकासँग मिलेर उनले वृक्षरोपण गरेकी हुन्। ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने नारासहित प्रगति सामुदायिक वनको प्रगतिटोल क्षेत्रमा विभिन्न जातका सयौं बिरुवा रोपिएको थियो।
राना मगरलाई जन्मदिनको शुभकामना दिन अर्जुनधारा नगरपालिकाका विभिन्न वडाबाट राजनीतिक दलका प्रतिनिधि, महिला समूह, सामाजिक संघसंस्था तथा स्थानीयवासी उनको निवासमा पुगेका थिए। शुभकामना तथा आशीर्वाद प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सबै राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालासँग सहकार्य गर्दै क्षेत्रको विकासमा प्रतिबद्ध भएर काम गर्ने बताइन्।
वृक्षरोपणका लागि आवश्यक विभिन्न प्रजातिका बिरुवा जिल्ला वन कार्यालय झापा र समाजसेवी शेरबहादुर थापाले उपलब्ध गराएका थिए।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।






