झापा, १५ भाद्र । झापा भद्रपुरका मामाभान्जाको भारतको पश्चिम बंगालमा कारको ठक्करबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर–५, सुन्दरबस्तीका २५ वर्षीय भान्जा विजय सहनी र उनका ३१ वर्षीय मामा अशोक सहनी रहेका छन्।
उनीहरू फुर्सदको समय सदुपयोग गर्दै सिलिगुडी घुम्न जाने क्रममा दुर्घटनामा परेका हुन्। दुवै जना भद्रपुरस्थित घरबाट बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडीका लागि निस्किएका थिए।
भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडको केलाबारी क्षेत्रमा तीव्र गतिमा आएको आर्टिका कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ। दुर्घटनामा विजयको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते अशोकलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो।
विजयले केही दिनअघि मात्रै भदौ ११ गते आफ्नो जन्मदिन मनाएका थिए।
दुर्घटनापछि कार चालक फरार भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले चालकलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।






