Logo

अतिरिक्त क्रियाकलापले मर्ज हुनबाट जोगिएको विद्यालय



झापा, २१ फागुन । विधालयको समय सामान्यतया विहान १० देखी ४ बजे सम्म हो । तर, झापाको पुर्वोत्तर बुद्धशान्ति गाँउपालिका वडा नं. ६ मा रहेको आदर्श आधारभूत विद्यालयमा ३ः३० बजे पुग्दा त्यस विद्यालयका विद्यार्थी कक्षाकोठा भित्र थिएनन् ।

विद्यार्थी कोही चौरमा फुटबल खेलीरहेका थिए त, कोही कक्षा कोठामा गीत बजाएर नाचिरहेका थिए । कोही विद्यार्थी हारमुनियमको स्वरमा सारेगम गर्दै थिए भने कोही नक्कल गरिरहेका थिए । रमाइलो मानिरहेका विद्यार्थीका गतिविधि शिक्षक नियाँलरिहेका थिए । विद्यालयमा प्रत्येक दिन ३ः२० देखी ४ बजेसम्म हुने अतिरिक्त क्रियाकलापमा विद्यार्थी उत्साजनक रुपमा रहभागी हुने गर्दछन् ।

औपचारिक शिक्षाले मात्र विद्यार्थीको सर्वाङगिण विकाश नहुने भन्दै विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलापका लागि दैनिक समय छुट्याइएको शिक्षक बासुदेव न्यौपानेले बताए । समयको माग अनुसार किताबी ज्ञानसँगै अन्य विषयमा पोख्त बनाउन विद्यार्थीको रुचि अनुसारका विधा सिकाइने गरेको न्यौपानेले बताए । उनले भने ‘खेलकुद, गायन, नित्य, अभिनय, उद्घोषण लगाएतका विधामा विद्यार्थीको रुचि र क्षमता अनुसार सिकाउने गर्छौ ।’

हप्तामा एक दिन (शुक्रबार) मात्र अतिरिक्त क्रियाकलाप हुँदै आएकोमा विद्यार्थीको सर्वाङगिण विकाशका लागि दैनिक समय छुट्याइएको प्रधानाध्यापक गायत्री ढकालले बताए । ‘एक दिन मात्र सिकाउँदा विद्यार्थीको प्रगति ढिलो हुने भएकाले ४० मिनेटको कक्षालाई छोट्याएर ३५ मिनेटको बनाएरका छौँ ।’ उनले भने, कक्षा र टिफिनको समयलाई छोट्याएर निकालिएको ४० मिनेटको समयमा हामी विद्यार्थीलाई रुचि अनुसारको विधा सिकाउछौँ’ ।

विद्यार्थीको सिकाइमा शिक्षक, स्रोत व्यक्ति र अभिभावक संलग्न हुँदै आएका छन् । विद्यार्थीलाई प्राविधिक शिक्षा अन्तरगत कम्प्युटर शिक्षासमेत दिइँदै आएको छ । हप्ताको एक दिन शुक्रबार हाजिरी जवाफ कार्यक्रम हुने गरेको शिक्षक न्यौपानेले बताए । दैनिक हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको आर्कषण बढेको मात्र छैन, अभिभावकले सकरात्मक प्रतिक्रिया पनि दिएका छन् ।

विद्यार्थीको संगीत सिकाइमा स्थानीय गायक तथा अभिभावक भिम नेपाल संलग्न छन् । गायक नेपालले विद्यार्थीलाई सिकाउन पाउँदा आफु खुशी भएको बताए । उनले बालबालिकाको प्रतिभा उजागर गर्ने विद्यालयको प्रयास प्रशंसायोग्य भएको बताए ।

बुद्धशान्ति ६ की प्रमिला राईले आफ्ना नानी विद्यालयमा पढाउँदा सन्तुष्ट रहेको बताइन् । सामुदायिक विद्यालय भएपनि अंग्रेजी माध्यमका स्कूल भन्दा स्तरीय पढाई हुने गरेको उनले बताइन् । विद्यालयले गराउने अतिरिक्त क्रियाकलापले नानीहरुको कलाक्षेत्रमा प्रोत्साहित भएको बताइन् ।

कुनै समय विद्यार्थी संख्या कम भएर मर्ज हुन लागेको विद्यालयमा हाल ८५ जना विद्यार्थी अध्यानरत छन् । कक्षा ५ सम्म पढाईहुने विद्यालय मर्ज हुन लाग्दा भूपु विद्यार्थी, स्थानीय, अभिभावक बुद्धिजिवी लगाएको पहलमा पुनःस्थापना भएको थियो । अंग्रेजी माध्यमबाट पढाइहुने यस सामुदायिक विद्यालयमा पाँच जना निजी, तीन जना सरकारी शिक्षक र एकजना कर्मचारी गरि नौजना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्