Logo

झापा कारागारमा नयाँ भवन उद्घाटन, संविधान दिवसमा १४ कैदीबन्दी छुटे



झापा, ३ असोज । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ ।

भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ भवनको तल्लो तलामा ज्येष्ठ र अशक्त कैदीबन्दीलाई राखिनेछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गत फागुनमा शिवरात्रिको अवसर पारेर शिलान्यास गरेको भवनको आज प्रजिअ तिम्सिनाले नै संविधान दिवसको अवसरमा उद्घाटन गरेका छन् ।

भद्रपुर नगरपालिका–८ मा पाँच दशक अघि बनाइएको झापा कारागारको पुरानो भवनमा २५० कैदीबन्दी अट्ने क्षमता छ । जीर्ण र पानी चुहिने अवस्थाको पुरानो भवनमा हाल एक हजार २०० कैदीबन्दी कष्टपूर्वक बस्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सङ्घीय सरकारले कारागारको प्रशासन भवन बनाउन बजेट पठाएको भएतापनि कारागारका कैदीबन्दीको विजोग अवस्था देखेर बजेट संशोधन गरी उनीहरु बस्ने भवन नै बनाइएको बताए ।

कारागारका प्रमुख (जेलर) राजेन्द्र गौतमले नयाँ भवनमा ३५० जना कैदीबन्दीलाई राख्न सकिने जानकारी दिए । “कर्मचारीलाई प्रशासनिक भवन नचाहिएकोे होइन”, उनले भने, “तर, कारागारभित्र कैदीबन्दी खाँदाखाँद गरेर बस्नु पर्ने दयनीय अवस्था देखेर हामीले उहाँहरुकै लागि भवन थप्नुपर्छ भन्ने सोच्यौं ।”

गत आर्थिक वर्षभित्रै भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौँले फागुनमा ठेक्का सम्झौता गरेको भएपनि कोभिडकै कारण निर्माणमा केही ढिलो भएको बताइएको छ । पुरानो भइसकेको जीर्ण अवस्थाको कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि नै उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो ।

नयाँ भवन बनेपछि कैदीबन्दीलाई बस्न केही सहज भए तापनि समस्याको पूर्ण समाधान भने भएको छैन । अहिलेको कारागार भवन रहेको स्थानबाट तीन किलोमिटर पश्चिममा प्रदेश प्रशिक्षण केन्द्रको १० बिघा सरकारी जग्गा कारागारको स्वामित्वमा आइसकेको हुँदा आगामी चार वर्षभित्र नेपालकै नमूना कारागार भवन निर्माण हुने प्रजिअ तिम्सिनाले जानकारी दिए ।

यसैबीच, संविधान दिवसका अवसर पारेर कारागारका कैदीबन्दीलाई खेलकुदका सामान आज हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिकाको सहयोगमा ती सामान प्रादन गरिएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बन्दी विकास पुस्तकालयलाई खेलकुदका सामान हस्तान्तरण गरेका छन् । समाजसेवी मीरा थापाले नयाँ भवनमा कैदीबन्दीका लागि ५५ इञ्चको एलइडी टेलिभिजन सहयोगस्वरुप प्रदान गरेकी छन् ।

१४ कैदीबन्दी छुटे
संविधान दिवसको अवसरमा आज झापा कारागारका १४ जना कैदीबन्दी रिहा भएका छन् । हाल सो कारगारमा एक हजार १२४५ कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्