Logo

बि एण्ड सी चौघेराको पत्रकारिता



बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाई आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहन्छन् । प्रसाई कहिले राजनीतिक पार्टी र नेतालाई गाली गरेका कारण त, कहिले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीदेखि महिलाका विषयमा दिएका अभिव्यक्तिले विवादमा पर्ने गर्दछन् । प्रसाईले गर्ने यस्ता टिप्पणी तथ्यहीन र हावादारीमात्र हुँदैनन्, वास्तविक पनि हुन्छन् । तर, उनको नकारात्मक अभिव्यक्तिले सत्यकुरा पनि आलोचनाको घेरामा पर्ने गर्दछ ।

सेतोपाटी डटकमले लेखेको समाचारको विषयमा बि एण्ड सी अस्पतालले माघ १९ गते पत्रकार सम्मेलन आयोजना गर्यो । अस्पतालका सञ्चालक रहेका प्रसाईले पत्रकार सम्मेलनमा पत्रकारकाबारेमा दिएको अभिव्यक्ति अहिले विवादको घेरामा परेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसाईका विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिपयको दुर्गा प्रसाईले पत्रकारका विषयमा सत्यकुरा बोले भन्ने टिप्पणी छ भने नेपाल पत्रकार महासंघ झापा शाखा, प्रदेश समिति र केन्द्रीय समितिले विज्ञप्ति प्रकाशित गरी प्रसाईको अभिव्यक्तिको आलोचना गरेका छन् ।

प्रसाईले के भने ?
सेतोपाटी डटकमले बि एण्ड अस्पतालले कोभिड संक्रमणका लागि प्रतिदिन ४ हजार ५ सय रुपैयाँ असुल्छ भन्ने समाचार प्रकाशन गरेको थियो । अस्पतालले सेतोपाटीमा खण्डन प्रकाशन नगरेर झापाका सञ्चारमाध्यममा खण्डन प्रकाशन प्रसारण गर्यो । समाचारको खण्डन सशुल्क छापियो । कतिपय मिडियाले सेटोपाटीको नाम उल्लेख गरे त कतिले एक अनलाइन भनी प्रकाशन प्रसारण गरे ।

सेतोपाटीको समाचारका विषयमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईले ‘अब पत्रकारसँग भिड्ने’ भन्ने धम्कीपूर्ण भाषा बोलेको भिडियो सार्वजनिक भयो । प्रसाईले कार्यक्रम सकिएपछि अनौपचारिक रुपमा पत्रकारकै अघि पत्रकार महासंघ झापाका अध्यक्षलाई तीन वर्षसम्म पारिश्रमिक दिएको र महासंघका प्रदेश समितिका एक जना सदस्यसहित दुई जनाको घर बनाइदिएको बताएछन् । उनले निःशुल्क उपचार पाएका पत्रकारदेखि क्यामेरा, ल्यापटप पाउने पत्रकारसम्मको नाम लिँदै आक्रोश व्यक्त गरेछन् ।

कतिपय पत्रकारले प्रसाईको अभिव्यक्तिलाई स्वभाविक रुपमा लिँदै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समर्थन गरे । कतिपय पत्रकारले आलोचना र विरोध गरे । नेपाल पत्रकार महासंघ झापा शाखा, प्रदेश समिति र केन्द्रीय समितिले विज्ञप्ति प्रकाशन गरी प्रसाईको अभिव्यक्तिको आलोचना गरे । पत्रकार र पत्रकारिताप्रति चासो राख्ने व्यक्ति र नागरिकले सामाजिक सञ्जालमा बि एण्ड सी अस्पताल, सञ्चालक दुर्गा प्रसाई र पत्रकारका विषयमा अनेक प्रकारका टिप्पणी गरेका छन् । प्रसाईका अभिव्यक्ति, बि एण्ड सी अस्पताल, पत्रकार, पत्रकार आचारसंहिता लगायतका विषयमा चर्चा, आलोचना र टिप्पणी गर्नुभन्दा अघि केही स्पष्टिकरण दिनु सान्दर्भिक ठानेको छु ।

मेरा केही भनाई
बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाई मेरा पुराना मित्र हुन् । प्रसाईले भैँसी फार्म सञ्चालन गरेदेखि चिनजान भएको हो । उनीसँग मेरो कुनै दुश्मनी छैन । भेट हुँदा सामान्य भलाकुसारी हुन्छ । कुनै कुरामा भनाभन वा चर्काचर्की पनि आजसम्म भएको छैन । बि एण्ड सी अस्पतालले मेडिकल कलेज सञ्चालनको अनुमति पाउने कुरामा कुनै विमति छैन । अस्पताल स्थापना हुनु नै झापाबासीका लागि गौरवको विषय हो । त्यसमा मेडिकल कलेज स्थापना भए दुःखी हुनु पर्ने कुनै कारण छैन । तर, उनले प्रयोग गर्ने भाषाशैली, पत्रकार र अन्य मानिसलाई हेर्ने दृष्टिकोणमा अनेकौँ विमति छन् । उपचारमा सेवाग्राहीबाट आउने गुनासो वा अस्पतालका कमजोरी लुकाउने कार्यमा सहयोगी हुन नसकिएको मात्र हो ।

त्यसो त म र मेरो परिवारका सदस्य उपचारका लागि बि एण्ड सी अस्पताल दर्जनौं पटक गएको छु । कोरोनाको दोस्रो लहरमा मेरी श्रीमतीको उपचारमा बि एण्ड सीले गरेको सहयोगप्रति सामाजिक सञ्जालमार्फत मैले धन्यवाद दिएको छु । बि एण्ड सीको उपचार महंगो छ । तर, कतिपय उपचारका लागि बि एण्ड सीको विकल्प पूर्वमै छैन ।

सेतोपाटीले बि एण्ड सीले बिरामीबाट ४ हजार ५ सय रुपैयाँ पिपिइ शुल्कबापत असुल्छ भन्ने समाचार लेखेछ । मैले त बि एण्ड सीमा पिपिइको प्रतिदिन लगभग ७ हजारको आसपासको बिल भुक्तानी गरेको थिएँ । हरेक नर्स र डाक्टरले प्रत्येक राउण्डमा लगाउने पिपिइको बिल सबै बिरामीमा जोडिदो रहेछ । मैले अन्तिमबिल भुक्तानी गर्दा पिपिइको बिल अलिक धेरै भएन ? भन्दा, नियम यस्तै हो भन्ने जवाफ पाएँ । त्यसबेला मृत्युको मुखमा पुगेकी श्रीमती बचाउन सकेकाले पिपिइको शुल्कका विषयमा धेरै प्रतिप्रश्न गरिएन । बि एण्ड सीमा मेरो र परिवार सदस्यको अहिलेसम्मको सबै उपचार निःशुल्क होइन, सशुल्क हो । मैले कहिल्यै निःशुल्कका लागि आग्रह पनि गरेको छैन । न त कसैका लागि सिफारिस नै गरेको छु ।

यस्तै अस्पतालबाट प्रारम्भका केही वर्षसम्म पत्रकार सम्मेलन लगायतका कार्यक्रमको लगातार निम्ता नआएको होइन, आएपनि नगएकै हो । बि एण्ड सी अस्पताल स्थापना गर्ने घोषणादेखि अहिलेसम्मका कुनै पत्रकार सम्मेलन वा कार्यक्रममा म उपस्थित छैन । कुनै पूर्वाग्रह राखेर होइन, यसमा मेरा केही आफ्नै मान्यता छन् । पत्रकार सम्मेलनमा सूचनाभन्दा विज्ञापनको प्रचार हुने, पैसा भएपछि पत्रकारलाई जे पनि लेखाउन सकिन्छ भन्ने मान्यता राख्ने प्रसाईको सोचलाई सहयोग गर्न नसकिने भएर नगएको हो ।

अस्पतालले विज्ञापन नदिएर नगएको पनि होइन । अहिलेसम्म म संलग्न सजिलो खबर डटकम वा अन्य कुनै सञ्चारमाध्यमका लागि विज्ञापनको प्रस्ताव पनि गरिएको छैन । बि एण्ड सीका समाचार बहिष्कार गरेको पनि होइन । म संलग्न मिडियामा जुन सामग्री विज्ञापन नभएर समाचार हो, त्यो मजाले प्रकाशन प्रसारण हुने गरेको छ ।

बि एण्ड सी र पत्रकारिता
कुनै पनि प्रतिष्ठान वा उत्पादकले जनसम्पर्क (पिआर) विस्तारका लागि प्रयोग गर्ने सबैभन्दा प्रभावकारी औजार भनेको सञ्चारमाध्यम र पत्रकार हुन् । त्यस्ता संस्था वा उत्पादकको उत्पादित वस्तु वा सेवा उपभोक्ता वा सेवाग्राहीलाई बिक्री गरेर धेरैभन्दा धेरै मुनाफा आर्जन गर्नु प्रमुख उद्देश्य हो । प्रतिष्ठान वा उत्पादकले उत्पादित सामग्रीको सकेसम्म कम शुल्कमा प्रचारप्रसार गर्ने र ब्राण्ड स्थापित गर्ने प्रयास गर्दछ । अर्को उद्देश्य भनेको प्रतिष्ठान वा कम्पनीको प्रतिष्ठामा नकारात्मक असर पुगे, त्यो बिग्रिएको छवि सुधार्ने कार्य पनि गर्दछ । सिद्धान्ततः थोरै लगानीमा धेरै प्रचार गर्न र बढी नाफा आर्जन गर्न सबै कम्पनी लागेका हुन्छन् । बि एण्ड सी अस्पतालले पनि थोरै लगानीमा धेरै सञ्चारमाध्यमको प्रयोग गरेर आफ्नो विज्ञापन गरेको छ । यस विषयमा अस्पतालले के गर्यो भन्ने प्रश्नभन्दा अस्पतालको उपकरण कतिसम्म बन्ने र कति बन्नु हुन्छ भन्ने कुरा पत्रकार र सञ्चारमाध्यमले आँकलन गर्नु पर्दछ ।

बि एण्ड सी अस्पतालले दिन बिराएर गर्ने ‘पत्रकार सम्मेलन’ पत्रकार सम्मेलन नभएर विज्ञापन थिए र हुन् । अस्पतालमा नयाँ डाक्टरको आगमन, डाक्टरले काम गर्न थालेको, अपरेशन गरेको, कुनै उपकरण जडान भएका जस्ता सामग्री समाचार होइनन् । ती विज्ञापन थिए र हुन् । हामीले बि एण्ड सी अस्पतालले दिने सय र हजार रुपैयाँमा लाखौँका विज्ञापनलाई समाचार बनायौँ । नागरिकमा भ्रमको खेती गर्यौ । यस्ता कार्यमा संलग्न भएबापत पत्रकारलाई पैसा, उपहार, दशैँमा सूट, बूट बाँड्दा बि एण्ड सी अस्पताललाई घाटा छैन । विज्ञापनलाई समाचार बनाउने कार्य गर्न लगाएर अस्पतालले अहिलेसम्म करोडौँ रुपैयाँ जोगाएको छ । तर, पत्रकार र सञ्चारमाध्यमले केही हजार र लाख मात्र पाएका छन् ।

एक समय बि एण्ड सी अस्पतालको पत्रकार सम्मेलनमा पत्रकार भरीभराउ हुन्थे । जब पत्रकार महासंघ झापा शाखाको अघिल्लो कार्यसमितिले पत्रकार सम्मेलनमा यातायात खर्चका नाममा पत्रकारलाई पैसा नदिन र नलिन आग्रह गर्यो, बि एण्ड सीमा पत्रकारको खडेरी लाग्यो । त्यसपछि कोही सल्लाहकारमा नियुक्त भए त कोही पत्रकारका ठेकेदार भएर निस्किए । पत्रकार सम्मेलनमा पैसा नबाँड्ने तर ठेकेदार पत्रकारले सम्मेलनमा जाने पत्रकारको खल्तीसम्म पैसा पु¥याउन थाले । तिनै ठेकेदार पत्रकारले दशैँमा पैसा बाँड्नु पर्ने पत्रकारको सूची तयार गर्नथाले । को कति पटक पत्रकार सम्मेलनमा आएको छ, अस्पतालको पक्षमा कसले कतिसमाचार लेखेको छ वा पत्रकारको सामाजिक स्तर कस्तो छ भन्ने आधारमा उसले दशैंमा नगद र उपहार पाउन थाले ।

पत्रकार महासंघ झापामा लगभग २५० जना सदस्य छन् । सदस्य नभएका एक सयभन्दा बढी पत्रकार होलान् । समग्रमा सक्रिय पत्रकार २५० को हाराहारी छन् भन्ने अनुमान गर्न सकिन्छ । त्यसमा पनि बि एण्ड सीको पत्रकार सम्मेलनमा उपस्थित हुने पत्रकार केही दर्जन मात्र छन् । जाने सबै पत्रकार खराब भन्ने पनि होइन । सबैले नगद बुझ्छन् भन्ने पनि होइन । तर, नगद र उपहार नलिने पत्रकार पनि बद्नाम भएका छन् । कतिले एक दुई हजार नगद लिए होलान् तर सबैभन्दा बढी मुनाफा लिने भनेको पत्रकारको टाउको गनेर रड, सिमेन्ट लिने र त्यहाँ जागिर खाने पत्रकारले नै हो । त्यस्ता साथीको संख्या सीमित छ । तर, बद्नाम धेरैले हुनु परेको छ ।

बि एण्ड सी अस्पतालका कार्यक्रममा बोलाउँदा कहिल्यै नजाने पत्रकार संख्या झापामा ठूलो छ । तर, केही ठेकेदार पत्रकारका कारण झापाका सम्पूर्ण पत्रकार, सञ्चारमाध्यम र सञ्चारमाध्यममा संलग्न व्यक्ति बद्नाम भएका छन् । अन्य जिल्लामा जाँदा त्यहाँ पत्रकार साथीहरु सोध्ने गर्नु हुन्छः झापाका सबै पत्रकार त बि एण्ड सीले किन्यो भन्छन् नि क्या हो ? बि एण्ड सी र झापाका पत्रकार विषयमा दर्जनौ प्रश्न र जिज्ञाषा अन्य जिल्लाका साथीहरुले गर्नु हुन्छ । बि एण्ड सी अस्प्तालका कार्यक्रममा कहिल्यै नजाने तर यस्ता प्रश्नकोसामना गर्ने झापाली पत्रकारको मन सँधै अमिलो हुने गर्दछ ।

प्रसाईको अरोप र छानविनको सवाल
दुर्गा प्रसाई जीले लगाएका आरोप कति सत्य छन् ? बि एण्ड सी अस्पतालका विषयमा हाम्रा सञ्चारमाध्यममा प्रकाशन प्रसारण हुने समाचार पत्रकार आचारसंहिताको परिधिभित्र छन् छैनन् ? समिक्षा गर्नै पर्ने भएको छ । प्रसाई जीका अभिव्यक्ति स्वभाविक रुपमा झापाको पत्रकारितामा केही प्रश्न उठेका छन् । कोही पत्रकार कुनै संस्थाको प्रेस सल्लाहकार हुँदा त्यो विषय सार्वजनिक जानकारीमा हुनु पर्छ कि पर्दैन ? अघोषित प्रेस सल्लाहकार हुन पत्रकार आचारसंहिता र पत्रकारिताका मूल्य मान्यताले अनुमति दिन्छ दिँदैन ? कसैले फलाना पत्रकारको घर बनाइदिँए भन्छ भने त्यो विषय छानविनको दायरामा आउनु पर्छ पर्दैन ? नांगो रुपमा विज्ञापनलाई समाचार बनाउँदा आचारसंहित उलंघन भएको विषय छानविन हुनु पर्छ पर्दैन ?

झापाका न बिराउने पत्रकारले पनि निन्दा, गाली, अपमान र वेइज्जतीका शिकार भएका छन् । झापाको पत्रकारितालाई शुद्धिकरण गर्न पनि छानविन आवश्यक छ । बि एण्ड सी प्रकरणको सत्यतथ्य बाहिर ल्याउने हो भने इमान्दार पत्रकार र सञ्चारमाध्यमका लागि त्यो नयाँ गारेटो बन्न सक्छ । अन्यथा, पत्रकारिता बद्नाम र दुर्नान पेशा बन्ने निश्चित छ । हामीले हाम्रो पत्रकारितालाई कस्तो बनाउने हो, त्यसका बारेमा सोचौँ, आचारसंहिताको पालन गरौँ, दुर्नाम हुनबाट जागिऔँ । (सम्पादक सापकोटा नेपाल पत्रकार महासंघ झापा शाखाका निवर्तमान अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्