Logo

राजसंस्थाबारे बुझाउन नसक्नु मेरो कमजोरी हो: थापा



चितवन, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनतालाई राजसंस्थाबारे बुझाउन नसक्दा अहिलेको अवस्था सृजना भएको बताएका छन् ।

मंगलबार भरतपुरमा पत्रकारहरूसँग उनले ०६२/६३ यता जनतालाई राजसंस्थाबारे बुझाउनै नसकिएको बताए। उनले राप्रपाको चरित्रहत्या गर्ने ठूलो षड्यन्त्र भइरहेको समेत आरोप लगाएका छन् ।

‘अहिले हाम्रो चरित्र हत्या गर्ने धेरै ठूलो योजना भइरहेको छ। हिजो राजसंस्था बोकेकोमा गाली गर्थे अहिले छाडेकोमा गाली गर्दै छन्,’ उनले भने, ‘१५ वर्षको बीचमा हामीले राजसंस्थाबारे बुझाउनै सकेनौं । यो मेरो पनि कमजोरी हो।’

पछिल्ला १५ वर्षमा पूर्वराजा र दलहरूको सम्बन्ध सुध्रिनुको साटो झन्–झन् बिग्रिँदै  गएको उनले भनाइ थियो । उनले अब सडकमा नाराबाजी गर्दैमा राजसंस्था नफर्किने र यसको औचित्य नभएको समेत बताए ।

‘नेपालमा राजसंस्थाको स्थापना विदेशीले गर्ने होइन। सेनाले कु गरेर गर्ने पनि होइन र सडकमा २/४ हजार मान्छे राजा आऊ देश बचाऊ भनेर अस्थिरता सृजना गरेर राजसंस्था आउंँदैन,’ उनले भने । पूर्वराजाले पार्टीमा हस्तक्षेप गरेर गुट र व्यक्तिको पक्षपोषण गरेको आरोपसमेत उनले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्