Logo

यू-१७ साफ च्याम्पियनसिप: नेपाल र भारत भिड्दै



काठमाडौँ, २४ भदौ । साफ यू–१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुने छ ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ । समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले निराश पार्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भारतको पनि एक खेलमा तीन अंक छ भने नेपालको पनि समान खेलमा तीन अंक छ । बराबरीको नतिजाले भने भारत समूह विजेता बन्ने छ । त्यसैले समूह विजेता बन्न नेपालका लागि जितको विकल्प छैन । नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन् ।

पहिलो खेलमा भारतसँग ३–० ले पराजित भुटान लगातारको दोस्रो हारपछि भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाइसकेको छ ।

समूह ‘ए’ को पहिलो खेलमा आयोजक श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।

शुक्रबार नै श्रीलंका र माल्दिभ्सबीच खेल हुने छ । जुन खेलले समूह ‘एु को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउने छ । नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन् ।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरे पनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्