Logo

‘बालबालिका र शिक्षा’ अब रेडियो मन्त्रबाट पनि



झापा, ६ असोज । बालबालिका लक्षित रेडियो कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो मन्त्रबाट पनि प्रसारण हुने भएको छ ।

मेचीनगरबाट प्रसारण हुँदै आएको रेडियो मन्त्र १०५.४ मेघाहर्जमा शुक्रबार बेलुकी ७:१५ बजे र शनिबार बिहान ८:१५ बजे प्रसारण हुने रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

बालबालिकाका आवाजलाई जनमानसमा पुर्याउन र बाल मनोबैज्ञानलाई सहज रुपमा बुझ्न अभिभावकसम्म उनीहरुको क्षमता देखाउन कार्यक्रम रेडियोबाट प्रसारण गरिएको निरौलाले बताए ।

यसअघि झापाबाट आँगन एफएम ८९.६ मेगाहर्ज, रेडियो बिराट ८८.५, इलामको रेडियो फिकल ९०.६ मेघाहर्ज, मोरङ्गको रेडियो रिदम ९९.७, रेडियो हिम शिखर १०३.३ मेघाहर्ज र पाँचथरको रेडियो मितेरी ९८.२ मेघाहर्जमा बालबालिका लक्षित कार्यक्रम ‘बालबालिका र शिक्षा’ प्रसारण हुँदै आएको थियो ।

मोबाइल र ईन्टरनेटको प्रयोग बाट बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रममार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो ।

बिगत २ बर्ष देखि प्रसारण हुँदै आएको रेडियो कार्यक्रमले अभिभावक र बालबालिकालाई सकारात्मक सन्देश दिदै आएको कार्यक्रम संयोजक एवम् बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले जानकारी दिए ।

साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने, सृजन घिमिरे, रेणु मुखियाको आवाजमा उत्पादन हुने कार्यक्रममा बालबालिका र शिक्षकको कुराकानी र गतिविधि समेटेर प्रसारण हुने गरेको छ ।

त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ‘मेरो कथा’ स्तम्भमार्फत प्रस्तुत गरिनेछ ।

शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने कार्यक्रम प्रस्तोता पुस्पा लिम्बुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्