झापा, १७ असार । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ स्कुलले अन्तर्राष्ट्रिय अङ्ग्रेजी शिक्षा साझेदारको मान्यता प्राप्त गरेको छ। विद्यालयले इन्भेस्टिचर समारोह-२०८३ को अवसरमा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका दुई महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्दै आफ्नो शैक्षिक यात्रामा नयाँ उपलब्धि हासिल गरेको हो।
समारोहमा नवनिर्वाचित विद्यालय परिषद्का पदाधिकारीलाई सपथ ग्रहण गराइनुका साथै पदस्थापन गरिएको थियो। विद्यार्थी प्रतिनिधिहरूले जिम्मेवारी, अनुशासन, इमान्दारिता र सेवाभावका साथ नेतृत्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यालयका विभिन्न विभागका प्रमुख शिक्षकलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यालयलाई क्याम्ब्रिज इङ्लिस एजुकेशनल पार्टनर (सीईईपी) को औपचारिक मान्यता प्रदान गरिएको थियो। उक्त मान्यताले विद्यालयले अन्तर्राष्ट्रियस्तरको अङ्ग्रेजी भाषा शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई विश्व प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्यलाई थप सुदृढ बनाएको विद्यालयले जनाएको छ।
यस अवसरमा एलसीसीआई जीक्यूका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. रोशन राठीले विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की तथा शैक्षिक निर्देशक डा. भिक्टर इग्नेसियस जोसेफलाई साझेदारीको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। सोही अवसरमा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।
विद्यालयले जापानको थ्रीडीआई संस्थासँग पनि अर्को समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त सहकार्यमार्फत विद्यालयमा नवीन प्रविधि, डिजिटल शिक्षा तथा भविष्यमुखी सिकाइ प्रणालीलाई थप प्रभावकारी रूपमा विस्तार गरिने जनाइएको छ।
समारोहमा विद्यार्थीहरूले भर्चुअल रियालिटी, त्रिआयामिक मुद्रण, ड्रोन प्रविधि, रोबोटिक्स, वेबसाइट तथा मोबाइल अनुप्रयोग विकासलगायत आधुनिक प्रविधिमा आधारित परियोजनाको प्रदर्शनी गरेका थिए। विद्यालयका अनुसार यस्ता गतिविधिले व्यवहारिक, अनुसन्धानमुखी तथा सीपमा आधारित शिक्षाप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा शाखाका उपसचिव तिलचन भण्डारी प्रमुख अतिथि तथा नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँहरूले विद्यार्थीलाई नेतृत्व, अनुशासन, नैतिकता र उत्कृष्टताको मार्गमा अघि बढ्न प्रेरित गर्नुभएको थियो।
विद्यालयले आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, नवप्रवर्तनमुखी तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेवार र विश्व प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने अभियानलाई निरन्तरता दिने विद्यालयका निर्देशक प्रमिश गिरीले प्रतिबद्धता जनाउनु भएको छ।






